खबर पूर्वाञ्चल
मोरङ अदालतका न्यायाधीश सुर्दशन लामिछानेको ईजालशले कार्कीलाई आज पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका हुन् । अदालतको आदेशपछि रविन विराटनगर कारागार चलान भएको मोरङ अदालतका श्रेस्तेदार राजकुमार दाहालले जानकारि दिए ।
रविन विरूद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङले ‘सवारी ज्यान मुद्दा’ मा मोरङ अदालतमा हिजो अभियोग दर्ता गराएको थियो । सरकारी वकिलको कार्यालयले सवारी तथा यातायत व्यवस्था ऐन २०४९ दफा १६१ (२) र दफा १६२ (१) को कुसरमा निज प्रतिवादी रविनलाई सोही ऐनको दफा १६१(२) को बमोजिमक तीन वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवनाका माग दाबी राखेर अदालतमा अभियोग दर्ता गराएको थियो ।
अदालतमा हिजो अभियोग दर्ता गराएकोले आज प्रतिवादीको अदालतमा बयान सकिएपछि सोही दिन थुनछेक बहस भएको थियो । जेठ २० गते राती साढे सात बजे प्रदेश सांसद कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिँदा ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका–२ का २७ वर्षीय राजकुमार राजवंशी गम्भीर घाइते भएका छन् ।
मृतक र घाइते विराटनगर–४ स्थित न्यु एभरेष्ट स्टिल उद्योगका कामदार हुन् । मदिरा सेवन गरेपछि कार्कीले चलाएको कार दुर्घटना भएको थियो । दुर्घटना भएको तीन दिनपछि २३ जेठमा कार्कीलाई मोरङ प्रहरीले पक्राउ गरेको थियो । रविनले दुई वर्ष अगाडि बागमती प्रदेशको यातायात कार्यालयदेखि सवारी अनुमति पत्र (लाइसेन्स) बनाएको खुलेको छ ।
दुर्घटना गराएको बेला लाइसेन्स नभेटिए पनि अदालतमा अभियोग बुझाउने बेलामा लाइसेन्स रहेको पत्र फेला परेको हो । रविनले २०७५ कार्तिक १२ गते सवारी चालक अनुमति पत्र बनाएको अभियोगमा बुझाएको पत्रमा उल्लेख छ । अभियोग पत्रमा हार्डकपी सवारी अनुमित पत्र नभए पनि लाइसेन्स नम्बर उल्लेख गरिएको छ । बागमती यातायात व्यवस्था कार्यालयले दिएको पत्रअनुसार रविनको ०१–०६–००५४२५१९ नम्बरको लाइसेन्स रहेको पत्रमा उल्लेख छ । रविनले लाईसेन्स हराएको भनेर बनाएको बुझिएको छ ।
‘पक्राउ गर्दा रविनको साथदेखि लाइसेन्स भेटिएको थिएन । पछि अनुसन्धान पुरा गर्ने समयमा लाइसेन्स रहेको भनिएको थियो । पछि बागमती प्रदेशबाट बनाएको लाइसेन्स नम्बरसहितको पत्र आएको छ । हार्डकपी सवारी अनुमति पत्र भने आइपुगेको छैन,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने ।