खबर पूर्वाञ्चल
आज अनुगमन गर्न पुगेको टोलीले विराटनगर महानगरपालिका –९ अस्पताल चोकमा रहेको दुई वटा फार्मेसी बन्द गरेको हो । एउटा फार्मेसी सञ्चालक भने अनुगमन टोली आउने जानकारी पाएपछि फरार भएका थिए ।
टाइम्स फर्मा र रियाङ्शी मेडिको अनुमगन टोलीले बन्द गरेको हो । बोर्ड नराखिएको एउटा फार्मेसी सञ्चालक भने अनुगमन टोली पुग्नु अघि नै पसल बन्द गरेर फरार भए । अनुगमन टोली आउने जानकारी पाएपछि अस्पताल चोकदेखि दक्षिण तर्फ जाने सडकमा रहेको फार्मेसी सञ्चालक शङ्कर यादव फरार भएका हुन् ।
लाइसेन्स प्राप्त व्यक्तिलाई नभेटिएपछि दुई वटा फार्मेसीको बिक्रीमा रोक लगाएको विभागको क्षेत्रिय कार्यालय विराटनगरका निमित्त प्रमुख सञ्जीव कट्टेलले जानकारी दिए । प्रमुख कट्टेलले बन्द गरिको फार्मेसीका सञ्चालकलाई कार्यालयमा उपस्थीत हुन निर्देशन समेत दिएका छन् । बोर्ड नराखेको फार्मेसीका सञ्चालक फरार भएपछि खोजीकार्य भइरहेको उनले बताए ।
बोर्ड नरहेको फार्मेसीका सञ्चालकले कन्चनबारीमा रहेको हेल्थकेर फार्मेसीको बिल प्रयोग गर्दै आएका थिए । औषधिका नाममा विरामीलाई ठगी गरेको उजुरी परेपछि अनुगमनका लागि टोली पुग्दा यादव भागेका थिए । उनका अनुसार टाइम्स फार्मेसीसँगै रहेको जिग्री फार्मेसीमा दर्ता विनाको सेनिटाइजर बरामद भएको छ । अनुगमनका क्रममा अन्य दुई वटा फर्मेसीको अवस्था सामान्य पाइएको थियो ।