AArya
RUMPUM
animated ellipse animated ellipse

ब्रुमरको सट्टामा नाङ्लो प्रयोग गरि सडक निमार्ण, ठेकेदारको लापरबाहीलाई सरकारी निकाय मौन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ बैशाख २०७८, मंगलवार २०:१६
1.44k
Shares
विराटनगर / विराटनगरको सडक कालोपत्रे गर्ने क्रममा ठेकेदारले ब्रुमर वा कम्प्रेसनले सट्टामा नाङ्लो प्रयोग गर सडकको धुलो उडाएर लापरबाहीका साथ गुणस्तरहीन काम भएको छ ।

यसरी ठेकेदारको लापरबाहीलाई सरकारी निकायले पनि देखेको नदेख्यै गरेपछि सडकमा मनपरी भएको हो ।

विराटनगर – १८ खोक्सादेखि दमार्गी हुँदै आइसीपी जोड्ने भित्री सडक निर्माणमा ठेकेदार कम्पनी आर.एस. निर्माण सेवा विराटनगरले लापरबाही गरेको भेटिएको हो । सडकको बेस बसाएपछि ‘प्राइमर’ लगाउनुभन्दा अगाडि ब्रुमर वा कम्प्रेसनले धुलो उडाएर सफा गरिनुपर्दछ । त्यसपछि मात्रै कालोपत्रे गरिनुपर्ने इन्जिनियरहरू बताउँछन ।

तर, विराटनगर १२ घर भएका ठेकेदार शिवशंकर कामतले ब्रुमरको प्रयोग गर्नुको साटो नाङ्लो प्रयोग गरेर धुलो उडाएका थिए । धानको भुस निफन्दा जस्तै नाङ्लो प्रयोग गरेरै सडकमा प्राइमर लगाएका छन् । यसरी ब्रुमरकोे प्रयोग नगरी धुलोमै प्राइमर लगाउँदा गुणस्तरीय सडक निर्माण नहुने भन्दै स्थानीयले विरोध जनाएका छन् । ‘हामीले ब्रुमर ल्याएर सडकको धुलो उठाएर प्राइमर गरिदिनु भनेर ठेकेदारलाई आग्रह गर्दा पनि कुनै सुनवाइ भएको छैन,’ स्थानीय देवराज पंजियारले भने, ‘यहाँ नाङ्लो प्रयोग गरेका छन् । जसले गर्दा राम्रोसँग धुलो पनि उडेको छैन । अहिले त्यही माथि प्राइमर, अलकत्र लगाएर छोडिदिएका छन् ।’

यसरी सडकको धुलो राम्रोसँग नउडाई प्राइमर लगाउँदा कालोपत्रे उप्किने र गुणस्तरहीन सडक बन्ने भन्दै स्थानीयबासीले चिन्ता ब्याक्त गरेका छन् । उनीहरूले अहिले भइरहेको सडक निर्माणमा जनप्रतिनिधि र प्राविधिकहरुको टोलीले अनुगमन गर्नुपर्ने र गुणस्तरीय सडक बनाउन निर्देशन दिनुपर्ने माग गरेका छन् । ‘हाम्रो एक मात्र माग हो, सडक गुणस्तरीय र टिकाउ बनोस,’ पंजियारले भने, ‘घर अघिको सडक राम्रो र दह्रो बन्यो भने मात्र हामीले तिरेको पैसा पनि सदुपयोग हुन्छ ।’

संघीय सरकार अन्तर्गत रहेको शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरको १८ लाख ७२ हजार ४ सय ६९ रुपैयाँ बजेटमा उक्त सडक निर्माणको ठेक्का आरएस निर्माण सेवाले पाएको हो । ४ सय ५० मिटर लम्बाई कालोपत्रे पिच सडक निर्माणको लागि गत चैत १२ गते सम्झौता भइ अहिले काम भइरहेको छ । आउँदो असार १५ गतेभित्र सडक निर्माण पूरा गरिनुपर्ने सम्झौता पत्रमा उल्लेख छ । ११ फिट चौडाइ रहेको सडकको ३० एमएम मोटाइ कालोपत्रे गरिनुपर्ने संघीय आयोजना कार्यान्वयन इकाइ विराटनगरका इन्जिनियर तथा सूचना अधिकारी राजु शर्माले बताए ।

‘ बु्रमरकोे प्रयोग गरेर मात्रै प्राइमर लगाउनुपर्ने हो,’ इन्जियिनर शर्माले भने, ‘राम्रोसँग धुलो नउडाइ यदि प्राइमर गरेको भेटिए पुनःनिर्माण गर्न निर्देशन दिनेछौं ।’ प्राइमर गरिनुभन्दा अगाडि सडकको कम्प्याक्सन चेक पनि गरिने भएकोले गुणस्तरीय सडक निर्माण गर्न ठेकेदारलाई निर्देशन दिने उनले बताए । आयोजना प्रमुख गंगाप्रसाद यादवले पनि गुणस्तरहीन सडक निर्माण गरेको भेटिए ठेक्दारलाई कारवाहीको दायरामा ल्याउने बताए । ‘सडक निर्माण सम्पन्न भएपछि हामीले सडकको ल्याब परीक्षण गर्दै आएका छौं,’ आयोजना प्रमुख यादवले भने, ‘गुणस्तरीय सडक निर्माण भएको पुष्टि भएपछि मात्रै भुक्तानी दिने गरेका छौं ।’ यदि गुणस्तरहीन सडक निर्माण भएको पुष्टि भए ठेकेदारले पाउने रकम रोक्का गरिने उनले बताए ।

यता आरएस निर्माण सेवाका संचालक तथा ठेकेदार शिवशंकर कामतले सानो परियोजना भएका कारण ब्रुमरको प्रयोग नगरेको बताए । ‘ ब्रुमरकोे साटो हामीले नाङ्लो र झाडुले राम्रोसँग धुलो उठाएर प्राइमर लगाएका छौं,’ ठेकेदार कामतले भने, ‘यहाँको सडक गुणस्तरीय बनाउँनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर