खबर पूर्वाञ्चल
आज रतुवामाई नगरपालिका, नगर युवा तथा खेलकुद समितिले पत्रकार सम्मेलनको आयोजना गरी बैशाख ३ गतेदेखि ११ गतेसम्म मेयरकप टी – २० क्रिकेट हुने जानकारी दिएको हो । रतुवामाई – ७ सिजुवास्थित गडीझारको खेल मैदानमा हुने प्रतियोगितामा नगरका १० वटै वडाको सहभागिता रहनेछ ।
प्रतियोगिताको उपाधि विजेताले १ लाख र उपविजेताले ५० हजारसहित ट्रफि र मेडल प्राप्त गर्ने आयोजक समितीका सदस्य सचिव सुजित जैसवालले जानकारी दिए । प्रतियोगितामा हरेक दिनका म्यान अफ द म्याचलाई ३ हजारसहित पुरस्कृत गरिनेछ भने समापनका दिन ७ वटा विधाका उत्कृष्ट खेलाडीलाई १५ हजारसहित पुरस्कृत गरिनेछ ।
प्रतियोगिता सम्पन्न गर्नका लागि ९ लाख बढी खर्च लाग्ने आयोजक समितीका अध्यक्ष मंगलसिंह चोङवाङले जानकारी दिए । प्रतियोगितामा तयारी गर्नका लागि हरेक टिमलाई ५ हजार अनुदान समेत दिईएको छ । बैशाख ३ गते हुने उद्घाटन समारोहमा चर्चित गायक प्रमोद खरेलको समेत उपस्थिति रहने आयोजकले जनाएको छ ।
पछिल्लो समय कोरोना भाईरसको जोखिम बढेपछि स्वास्थ्य सुरक्षा अपनाएर प्रतियोगिता गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।