AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मुक्तककार ढुंगेललाई मुक्तकसागर सम्मान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ चैत्र २०७७, सोमबार १९:१९
225
Shares
विराटनगर / अग्रज मुक्तककार भूषण ढुंगेललाई विराटनगरमा आयोजित कार्यक्रममा सम्मान गरिएको छ ।

विगत तीन दशकभन्दा लामो समयदेखि मुक्तक र समालोचना विधामा सक्रिय रहेका ढुंगेललाई मुक्तकसागर सम्मानबाट सम्मानित गरिएको हो ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठान र मुक्तक सागर त्रैमासिक पत्रिकाले सोमबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका वरिष्ठ कवि एवं पत्रकार प्रमोद प्रधान, वरिष्ठ समालोचक दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, मुक्तकसागर पत्रिकाकी सम्पादक निशा केसीलगायतले मुक्तककार ढुंगेललाई दोसल्ला ओढाएर सम्मानपत्र समर्पण गरे । ढुंगेलको ‘तिमीले लगेको मुटु’ मुक्तकसंग्रह प्रकाशित छ ।

त्यस्तै सोही अवसरमा स्याङ्जाका साहित्यकार अनन्त अर्याल, मिलन समीर, मकवानपुरका बिर्खे अञ्जान, सिक्किमकी जीविका अश्रु, सुनसरीका बद्री भिखारी, राधा भट्टराई, परिक्रमा श्रेष्ठ, मोरङका गोकुल अधिकारी, प्रयाग न्यौपाने, भरत गुरागाईं तारानाथ पोखरेल, लक्ष्मी स्मृति, चूडामणि नेपाल ‘अकिञ्चन’, लक्ष्मी आचार्य, सरिता तुलाधर, लक्ष्मी रायमाझी, अम्विका खरेल उप्रेती, ममता मृदुललगायतले तीन दर्जनभन्दा बढी स्रष्टाहरूले मुक्तक वाचन गरेका थिए । त्यस्तै प्राज्ञ विवश पोखरेल, लक्ष्मी श्रेष्ठ, बाबुराम पोखरेल, जीविका अश्रु, राधा भट्टराई, रीता ताम्राकारलगायतलाई मुक्तकसागर पत्रिकाले आजीवन सदस्यको सम्मान प्रदान गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका प्रमोद प्रधान, समालोचक दधिराज सुवेदी, प्राज्ञ खेम नेपाली, आयोजक संस्थाका अध्यक्ष प्राज्ञ विवश पोखरेल, महासचिव गोकुल अधिकारी, सचिव मीनकुमार नवोदितलगायतले नेपाली साहित्यमा मुक्तकको अवस्थालगायतका विषयमा प्रकाश पारेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर