खबर पूर्वाञ्चल
रोकिएको अभियान सुरू भएको जानकारी दिन ट्राफिक प्रहरीले आज प्रदेशभरीको स्थानमा सवारी चालकहरूलाई नमस्कार गर्दै सार्वजानिक स्थलमा हर्न नबनाइदिन अनुरोध गरेको छ । आज बिहान १० बजेतिर विराटनगरको बसपार्कदेखि छुटने छोटो तथा लामो दुरीका सवारी साधनका चालकहरूलाई ट्राफिक प्रहरीले नमस्कार गर्दै अनुरोध गरिएको थियो ।
कोरोना महामारीका बेला यो कार्यक्रमले निरन्तरता नपाए पनि ट्राफिक प्रहरीले थप सशक्त रूपमा कार्यान्वयन गर्नका लागि आजदेखि कार्यक्रम सुरु गरिएको हो ।
प्रदेश १ को १४ जिल्लामा अस्थायी ७३ र स्थायी १९ गरी ९२ वटा युनिट सञ्चालित छन् । जसमा ४ सय १० जना ट्राफिक प्रहरी कार्यरत रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
प्रदेश १ मा २०७४ असोज १ गतेदेखि नै हर्न निषेधित क्षेत्र घोषणा भए पनि त्यसविरुद्ध अदालतमा उजुरी परेपछि केही समय स्थगित भएको थियो । तर, उच्च अदालत विराटनगरले २०७५ जेठ १४ गतेको निर्णयले उजुरी खारेज गरेपछि ट्राफिक प्रहरीले निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको प्रवक्ता तिम्सिनाले जानकारी दिए । उनका अनुसार हर्न बजाएबापत प्रदेश १ मा २२ हजार एक सय ३ वटा सवारी साधनलाई कारबाही गरिएको थियो । जसबाट १ करोड ११ लाख ९९ हजार ५ सय रुपैयाँ राजस्व संकलनसमेत गरिएको थियो । ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ (घ) को ३ बमोजिम कारबाही गर्दै आएको छ ।