अन्य क्षेत्र भन्दा खेलकुदमा सरकारको लगानी न्यून : सदस्य सचिव सिलवाल

खबर पूर्वाञ्चल, २७ माघ २०७७, मंगलवार २०:१३

विराटनगर / खेलकुद क्षेत्रमा सरकारको लगानी अत्यन्त न्यून रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले बताएकाछन् ।

विराटनगरमा आजदेखि सुरु भएको दुईदिने खेलकुद अभिमुखीकरण कार्यक्रमको उद्घाटनका क्रममा सदस्य सचिव सिलवालले खेलकुदमा सरकारको ध्यान कम पुग्ने गरेको हुँदा लगानी पनि कम रहँदै आएको बताए । बार्षिक बजेटमा समेत शुन्य दशमलव १६ प्रतिशत रकम विनियोजन गर्नुनै खेलकुदप्रति सरकारको उदासिनता देखिएको सिलवालको भनाई छ। अन्तराष्ट्रिय खेलमा जित, पदकको अपेक्षा, खेलाडी प्रशिक्षकको प्रशिक्षणबाट सबैतहले अपेक्षा बढि राख्ने भएपनि सरकारको लगानी खेलक्षेत्रमा अत्यन्त कम भएको उनले प्रस्टाए ।

कार्यक्रममा सदस्य सचिव सिलवालले खेलकुद क्षेत्रमा गरिएको न्यून लगानीबाट धेरै प्रतिफलको अपेक्षा गर्न नहुनेमा जोड दिए । यद्धपी १३ औं सागमा नेपालले ५१ वटा स्वर्ण हात पारेपछि तीन तहकै सरकारको खेलकुदप्रति चासो राख्न थालेका छन् ।

लगानीका विषयमा सरकारप्रति असन्तुष्टि ब्यक्त गरेका सदस्य सचिव सिलवालले खेलकुद क्षेत्रभित्रै पनि एक अर्काबीच खुट्टा तानातान गर्ने अवस्था रहेको बताए । खेलकुद क्षेत्रभित्र खुट्टा तान्ने प्रवृत्ति हावी हुँदा खेलकुद गतिवीधिमा अवरोध हुदै आएको बताएका सिलवालले एक अर्कामा खुट्टा तान्ने, मुद्धा हाल्ने जस्ता क्रियाकलापबाट बाहिर निस्कनुपर्नेमा जोड दिए ।

सदस्यसचिव सिलवालले प्रशिक्षक, कर्मचारीको समेत कार्यक्षमता मासिक रुपमा मुल्यांकन हुने बताए। प्रशिक्षकहरुको सन्दर्भमा नतिजा र मुल्यांकनका आधारमा प्रोत्साहन गर्दै लैजाने उनको भनाई छ। उनले भने,‘अब कर्मचारी, प्रशिक्षक, प्रशासनिक पदाधिकारी सबैको कार्यक्षमता मुल्यांकन हुनेछ र ३ महिनाभित्र समायोजन प्रक्रिया अघि बढ्नेछ।’

करिब २५ वर्षपछि काठमाडौंबाहिर खेलकुद विषयगत अभिमुखीकरण कार्यक्रम सुरु गरिएको दाबी गरेका उनले कोभिडपछि शु्न्य रहेको खेलकुदलाई चलायमान बनाउनुपर्ने बताए। प्रदेश १ का १४ जिल्लाबाट कार्यक्रममा सहभागि प्रशिक्षक, कर्मचारी, खेलाडीलाई सम्बोधन गर्दै उनले कोभिडबाट सतर्क र सचेत रहँदै खेलकुदको विकास र गतिवीधिमा लाग्न सुझाव दिए।

कार्यक्रममा खेलकुदका लागि प्रदेश १ उर्वरभूमि भएको बताएका उनले पछिल्लो समय खेलकुद गतिवीधि न्यून र सुस्त रहँदा अर्धचेत अवस्थामा रहेको बताए। कार्यक्रममा सदस्यसचिव सिलवाल, कुलबहादुर थापा, अर्जुन विश्वकर्मा, अर्चना यादव लगायतले सहजीकरण गरेका थिए। राष्ट्रिय खेलकुद परिषदद्धारा आयोजित अभिमुखीकरण कार्यक्रम सुदूरपश्चिम हँुदै विभिन्न ५ वटा प्रदेशमा सम्पन्न भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५