खबर पूर्वाञ्चल
प्रदेश सभाको सो अधिवेशनको पहिलो बैठक आज अपरान्ह २ बजेदेखि सञ्चालन हुने भनिएको थियो । सभामा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ बाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर बैठक स्थगित गरेका हुन् । प्रदेश प्रमुखको पत्र वाचन गरेलगत्तै सभामुखले अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।
निलम्बन गरिएका १६ जना सांसदलाई ओली पक्षले बैठक कक्षमा प्रवेश नदिने योजनामा थिए । प्रचण्ड–माधव पक्षको योजना मुख्यमन्त्री शेरधन राईलाई दलको नेताको हैसियतमा बोल्न नदिने तयारीमा थिए ।
आफूहरुलाई अवरोध हुनसक्ने भएपछि नेकपा प्रचण्ड–माधव समूहमा सांसद एकैपटक प्रदेशसभामा प्रवेश गरे । बैठक कक्षमा प्रवेश गर्नुअघि सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए । बैठकमा दुवै समूह आ–आफ्नो अडान राखे ।
आज बैठकमा अवरोध भए संवैधानिक प्रश्न उठ्ने देखिएपछि सभामुख भण्डारीले प्रदेश प्रमुखबाट प्राप्त पत्र वाचन गरे लगतै अनिश्चितकालका लागि बैठक स्थगित गरे ।
अधिवेशन अन्त्य भएको ६ महिनाको अन्तरमा संसदको अधिवेशन बोलाउनै पर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार बोलाइएको संसद बैठक औपचारिकतामै सीमित भएको मात्र छैन अब संसदको बैठक कहिले बस्ने भन्ने कुनै टुंगो लागेन ।
सामान्तया अधिवेशनको सुरुवात र अन्त्यमा दलका नेताले सम्बोधन गर्ने परम्परा छ । तर आज परम्परा तोडिएको छ । सभामुखले अर्को बैठक बोलाएपछि मात्रै दलका नेताको सम्बोधन हुनेछ । त्यसपछि मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता अविश्वासको प्रस्तावमाथि छलफलको प्रक्रिया अघि बढ्नेछ ।
नेकपा प्रमुख सचेतक तथा ओली समूहका नेता बुद्धिकुमार राजभण्डारीले निलम्बनमा परेका सांसदलाई प्रवेश गर्न नपाउने आफ्नो अडान कायम नै रहेको बताए ।
बैठक सञ्चालन गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज कुनै कार्यसूची नबनाइएको उनले बताए । उनका अनुसार दोस्रो बैठक सभामुखले एक सातापछि तोक्ने सम्भावना छ ।
नेकपा प्रचण्ड–माधव समूहका नेता इन्द्रबहादुर आङ्बोले पनि सभामुखले बैठकको मिति तोक्ने बताए । अब बस्ने बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल हुने उनले बताए ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले माघ गते विवाह गर्दैछन् । विवाहको केही दिनपछि बैठक आह्वान गर्ने सम्भावना छ ।