समस्या आफैं आउँदैन व्यक्ति स्वयम्ले ल्याउने गर्छ

खबर पूर्वाञ्चल, ६ माघ २०७७, मंगलवार २०:०१
दिलकुमार घमाल

दिलकुमार घमाल
‘यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी’ वरिष्ठ गीतकार कालीप्रसाद रिजालको शब्द र स्वरसम्राट नारायणगोपालको स्वरमा भनेजस्तै मैले पनि जिन्दगीलाई आफ्नै किसिमबाट बिताउँदै आएको छु । जिन्दगीलाई नजिकबाट चियाउने र बुझ्ने प्रयास गरिरहेको छु । स्वरसम्राटले भनेजस्तै आखिर जिन्दगी भनेको दुई दिनको त रहेछ । आज छ भोलि छैन ।

जिन्दगीलाई हाँसी–खुसी र उल्लाहका साथ बिताउनु नै जिन्दगी हुनुको सार्थकता हो भन्ने मलाई लाग्दछ । कवि साहित्यकारहरुले जिन्दगीलाई त्यतिकै घाम–छाँयाका रुपमा चित्रण गरेका होइनन् । कतिपयले जिन्दगीलाई कर्कलाको पातको पानीसँग पनि तुलना गर्ने गरेका छन् । जिन्दगी भनेको कसले कसरी बिताउने हो भन्ने व्यक्ति विशेषमा भर पर्दछ । मैले जिन्दगीलाई उल्लाहका साथ बिताउने गरेको छु । हुन त जिन्दगी जिउने कला सबैका आ–आफ्नै हुन्छन् । तर, अनावश्यक तनावलाई टाउकोमा राखेर जिन्दगीलाई व्यर्थ बनाउनु हुँदैन भन्ने मेरो मान्यता हो

यतिबेला कोभिडले विश्व नै आक्रान्त छ । मानिस कोभिडबाट त्रसित छन् । मानसिक रुपमा तनावमा छ यतिबेला विश्व समुदाय नै । तर, मैले कोभिडलाई सामान्य रुघाखोकीको संज्ञा दिएको छ । कोभिडको कारण मेरो कर्मभूमि अष्ट्रिया पनि लामो समयदेखि लकडाउनमा छ । कोभिडले व्यापार व्यवसाय चौपट्ट बनाएको छ । तर, कोभिडले सिर्जना गरेको समस्यासँगै मानिस डरायो भने त्यसले प्रगति गर्दैन । चिन्ता र पीर लिएर समस्या समाधान हुने भए विश्व धेरै नै अगाडि बढिसकेको हुने थियो । चिन्ताले चितामा पु¥याउँछ भनेर हाम्रा अग्रजहरुले त्यतिकै भनेका होइनन् ।
कोभिड सुरु भएपछि सन् २०२० मेरा लागि अविस्मरणीय रह्यो ।

व्यावसायिक व्यस्तताले घरपरिवारलाई समय दिन भ्याउँदिनथें । अहिले पूरै समय घरपरिवारलाई दिइरहेको छु । यो बीचमा एक हजार किलोमिटरभन्दा बढी साइकल यात्रा गरें । त्यस्तै एक हजार किलोमिटरभन्दा धेरै पैदल यात्रा गरिसकेको छु । दुई हजारभन्दा बढी व्यक्तिसँग फोन संवाद भयो भने पाँच हजार फेसबुक साथीहरुसँग जोडिएको छु । टेलिफोन, फेसबुक र प्रत्यक्ष भेटेर जति जनासँग संवाद गरें उनीहरु सबै कोरोनापछि सिर्जित समस्याबाट निराश भएको पाएँ । जोसित कुरा गर्दा पनि नकारात्मक भएको पाए ।

कोरोनाले बर्वाद बनायो, कोरोनाले रोजगारी खोसियो, व्यापार व्यवसाय चौपट्ट भयो । यस्तैयस्तै गुनासा र समस्या सुनें उनीहरुबाट । तर, यो समस्या कुनै एउटा देशका सीमित नागरिकका लागि मात्रै होइन । हालसम्म २१८ वटा मुलुकमा कोरोनाको संक्रमण फैलिसकेको छ । व्यक्ति होइन देशलाई नै कोरोनाले आक्रान्त बनाएको छ । यस्तो अवस्थामा किन चिन्ता र पीर लिनु ? आखिर चिन्ता र पीर लिएर समस्या समाधान हुने पनि होइन ।

सन् २०२० हामी सबैका लागि फलदायी भएन । कोभिडले गाँजेको बेला मैले यही समयमा दुईवटा मोमोनेस रेष्टुरेन्ट स्थापना गरें । जुन एउटा १६ स्क्वायर मिटरमा अवस्थित छ । जुन अष्ट्रियाकै सबैभन्दा सानो ठाउँमा अवस्थित रेष्टुरेन्ट हुन सक्छ । यसमा मात्रै २ करोड ४० लाख नेपाली रुपैयाँ अर्थात् २ लाख युरो लगानी लागेको छ । सानो ठाउँका लागि यति ठूलो लगानी आफैंमा आश्चर्यजनक छ । जसलाई अष्ट्रियाको वास्तुकलाले पुरस्कारका लागि मनोनयन गरेको छ । यो सन् २०२० का लागि मनोनयन गरेको हो । जसले गर्दा म निकै उत्साहित भएको छु । आफूले गरेको कामबाट राम्रो प्रतिफल प्राप्त हुँदा को खुसी र उत्साहित नहोला ? सानो ठाउँमा ठूलो लगानीमा स्थापित मोमोनेस रेष्टुरेन्ट यसरी मनोनयनमा पर्दा आगामी दिनमा अगाडि बढ्न थप हौसला मिलेको छ । यस्तै–यस्तै नयाँ काम गर्न थप उत्प्रेरणा प्राप्त भएको छ ।

म जहिले पनि नयाँ–नयाँ काम गर्न रुचाउँछु । आखिर जिन्दगी भनेको प्रयोग त रहेछ । मलाई विभिन्न प्रयोग गर्न मन लाग्छ । यो रेष्टुरेन्टलाई पनि प्रयोगका रुपमा लिएको छु । अब चाँडै नै अर्को मोमोनेस रेष्टुरेन्ट खोल्ने तयारीमा छु । यसअघि खोलेको मोमोनेसले धेरैको मन जित्न सफल भएको छ । ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो । यसैलाई मूलमन्त्र बनाएर अगाडि बढिरहेको छु । जसमा मेरा कर्मचारी र परिवारको अथक मेहनत र लगाव रहेको छ ।

कोभिडकै बीचमा दुईपटक अन्तर्राष्ट्रिय उडान गरियो । ग्रीस र स्पेनमा पारिवारिक भ्रमणमा गएँ । यही बीचमा ‘नेपाली युरोपियन खेलकुद संघ’ (एनआइएससी) स्थापना गर्न सफल भएँ । जसमा थुप्रै साथीभाइ र इष्टमित्रको साथ र सहयोग रह्यो । संघमार्फत ‘स्वास्थ्य र मेलमिलापका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रतियोगिता भलिबल प्रतियोगिता गर्ने तयारी हुँदाहुँदै कोरोना तीव्र गतिमा फैलियो र लकडाउन भयो । जसका कारण सन् २०२० मा प्रतियोगिता गर्न सकिएन । अब कोभिड कम हुनेछ र सन् २०२१ मा प्रतियोगिता हुनेछ भनेर आशा लिएको छु ।

कोभिडले पारेको असर र त्यसबाट उत्पन्न समस्या एक ठाउँमा छ । तर, मैले कोभिडकै बीचमा पनि केही नयाँ काम गरें भन्ने लाग्दछ । कोरोनाका कारण अब धेरै मानिसमा मानसिक समस्या देखिने निश्चित छ । यसको मूल कारण भनेको अनावश्यक चिन्ता लिनु नै हो । सधैं सकारात्मक सोचौं, अनावश्यक चिन्ता लिन छाडौं । नयाँ–नयाँ काम गर्नेतर्फ ध्यान केन्द्रित गरौं । काँडामा पनि फूल देख्ने बानीको विकास गरौं । मरुभूमिमा पनि हरियाली भएको महसुस गरौं । अँध्यारोमा पनि उज्यालोको कल्पना गरौं । बस यति गर्न सकियो भने हाम्रा वरिपरि भएका आधा समस्या आफैं समाधान भएर जान्छन् । अनि तपाईं आफैंलाई लाग्न थाल्नेछ– जिन्दगी कति सुन्दर !
(समाजसेवीसमेत रहनुभएका लेखक अष्ट्रियाको इन्स्ब्रुकमा परिवारसहित विगत दुई दशकदेखि रेष्टुरेन्ट व्यवसाय गरेर बस्दै आउनुभएको छ ।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५