खबर पूर्वाञ्चल
मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम पेचिलो बन्दै गइरहेका बेला आङ्बो र कोइरालाबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कोइरालालाई भेट्न आङ्बो कोइराला निवास पुगेका थिए । भेट समसामयिक विषयमा केन्द्रित रहेको आङ्बोले बताए । अहिलेको अवस्था र घटनाक्रममा समान दृष्टिकोण भएका दलहरुबीच छलफल भएर अघि बढ्ने कुरामा नेता कोइरालासँग भेट भएको उनको भनाइ छ ।
प्रदेशका पूर्व मन्त्री आङ्बोले सामाजिक सञ्जालमा नेता कोइरालासँग भेटेको कुरा सार्वजनिक गर्दै वर्तमान राजनैतिक घटनाक्रम प्रतिगमनविरुद्धको सडक आन्दोलन र प्रदेशमा देखिएका संकट समाधानको लागि संवाद भनेर प्रस्ट पारे ।
पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भए पनि सत्ता साझेदारीका विषयमा छलफल भए÷नभएको केही खुलाइएको छैन । नेता कोइरालाले यसअघि कांग्रेस सडकबाट निर्वाचनको खबरदारी गर्ने र सत्ता साझेदारीमा नफस्ने बताउँदै आएका छन् । उनको भनाइसँगै कांग्रेस बलियो प्रतिपक्षीको भूमिकामा रहने हो भने, नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षलाई प्रदेश सभामा बहुमत पु¥याउन सकस पर्ने स्रोतले बतायो ।
प्रदेशका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि दाहाल–नेपाल समूहले राजनीतिक भेटघाटलाई तीव्र पारेका छन् । मुख्यमन्त्री राईले यसअघि नै मन्त्री आङ्बोलाई पदमुक्त गरिसक्नु भएको छ । यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको असरका रुपमा हेरिएको छ । संसद विघटनसँगै दुई चिरामा विभाजित बनेको सत्तारुढ नेकपाबीच आन्तरिक रस्साकस्सी चलिरहेको छ ।