खबर पूर्वाञ्चल
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण पछि विशिष्टकृत सेवा प्रदान हुने मुख्यमन्त्री राईले बताएका छन् । उनले प्रयोगशालाका नाममा हुने गरेका वेथिति, अनियमितता, सर्वसधारणलाई ठग्ने कार्यको नियमन हुने बताए । मुख्यमन्त्री राईले भने,‘ प्रदेश जनस्वास्थ्य प्रयोगशालाले प्रयोगशालाहरुको पनि प्रयोगशालाका काम गर्ने छ ।’
सामाजिक विकास मन्त्री जीवन घिमिरेले विशिष्टिकृत परीक्षणका लागि काठमाण्डौं र भारतका विभिन्न शहरहरु जानुपर्ने समस्याको अन्त्य हुने बताए । प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट विशिष्टिकृत परीक्षण हुने उनले बताए । मन्त्री घिमिरेले भने,‘प्रदेश भित्रका प्रयोगशालाको गुणस्तर मापनको जिम्मेवारी, शुल्कको नियमन, अनुगमनको काम प्रदेश प्रयोगशालाले गर्ने छ ।’ शिलान्यासको ८ महिनापछि सेवा शुरु गरिने दावी गरे । ६ महिना भित्रमा निर्माण सम्पन्न हुने उनले जानकनरी दिए ।
प्रदेश सभाषद् जयराम यादवले कुनैपनि परीक्षणका लागि काठमाण्डौं धाउनुपर्ने समस्याको अन्त्य हुने विश्वास व्यक्त गरे । उनले निश्चित समयमा भवन निर्माण गरि सेवा शुरु गर्न सुझाव दिए ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरमा प्रदेश स्तरिय जनस्वास्थ्य निर्माण हुने गौरवको विषय भएको बताए । उनले प्रयोगशाला निर्माणका लागि आवस्यक सहयोग गर्न महानगर तयार रहेको बताए ।
प्रयोगशालामा जेनरल ल्याव, नसर्ने रोग, सरुवा रोग, पीसीआर भाईरल कल्चर परीक्षण लगायतका काम हुने प्रदेश जनस्वास्थ्य निर्देशक जयवेन्द्र यादवले बताए ।
शिलान्यास कार्यक्रममा स्नातकोत्तर क्याम्पस विराटनगरका प्रमुख महेश खत्री, सेभ चिल्ड्रेन प्रदेश १ र २ का वरिष्ठ परियोजना व्यवस्थापक हरिवोल बजगाई, विराट मेडिकल कलेजका प्रयोगशाला विज्ञ सन्तोष काफ्लेलगायतले बोले । सेभ द चिल्ड्रेन र ग्लोवल फण्डसँगको सहायतामा जनस्वास्थ्य प्रयोगशाला निर्माण गरिने भएको छ । भवन निर्माणका लागि ८ करोडको लागतमा निर्माण हुने सेभ द चिल्ड्रेनका बरिष्ठ व्यवस्थापक बजगाईले जानकारी दिए ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका लागि स्नातकोत्तर क्याम्पसले ८ कठ्ठा १२ धुर जमिन उपलब्ध गराएको छ ।