खबर पूर्वाञ्चल
लामो समयदेखि स्थानीय जनताले माग गरेको सुरक्षा बेस क्याम्प विप्लव समूहले मिक्लाजुङ–१ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको गत मंगलबार घाँटी रेटेर हत्या गरेपछि सरकारले मिक्लाजुङ–१ स्थित आइतबारेमा नेपाल र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा बेस राखेको हो ।
आज ३६ जना सशस्त्र प्रहरी र १५ जना नेपाल प्रहरी रहनेगरी अस्थायी वेस क्याम्प स्थापना गरेको छ । साथै आपतकालिन रुपमा प्रयोग गर्नसक्ने गरी रिजर्भ फोर्ससमेत तयारी अवस्थामा राख्ने भएको छ
मोरङको विकट पहाडी भूगोल, तेह्रथुम र पाँचथरको सिमाना भएकोले भूमिगत समूहले त्यस क्षेत्रलाई रणनीतिक रुपमा प्रयोग गर्दै आएका थिए । शिक्षक श्रेष्ठको हत्यापछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी नायव उपरीक्षक (डिएसपी)को कमाण्डामा ४० जनाको टोलीले झण्डै एकसातासम्म सर्च अभियान सञ्चालन गरेको थियो । त्यहाँबाट प्रहरीले हत्यामा संलग्न भएका विप्लव समूहका कुनै कार्यकर्ता पक्राउ गर्न सकेन ।
बेशमा खटिएका सुरक्षाकर्मीले गरिबी निवारण कोष र मिक्लाजुङ गाउँपालिकाको संयुक्त लगानीमा बनेको भवन प्रयोग गर्ने भएका छन् ।
मिक्लाजुङमा तत्काल सुरक्षा आवश्यकता पुरा गर्न अस्थायी क्याम्प स्थापना गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।
हिंसात्मक गतिविधि गर्न थालेको भन्दै सरकारले २०७५ फागुन २८ मा विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो ।