खबर पूर्वाञ्चल
सो सम्मेलनमा नेपालमा प्राणीविज्ञानका क्षेत्रमा भएका अनुसन्धानहरुका एक सय ५० वटा कार्यपत्रहरुको प्रस्तुतिकरण गरिएको थियो ।
भारत,चीन,अमेरिका,कोरियालगायतका ११ वटा देशहरुबाट नेपाली तथा विदेशी प्राणी वैज्ञानिकहरुको सहभागिता थियो । जैविक विविधता, तिनको संरक्षण,मानव स्वास्थ्य,जलवायु परिवर्तन,मानव विकासलगायतका विधाहरुमा अनुसन्धान कार्यपत्रहरु प्रस्तुत भएका थिए । पाँच जना विदेशीउत्प्रेरक विज्ञ वक्ताहरु,१३ जना आमन्त्रित वक्ताहरु रहेको र जम्मा २४ वटा समूहमा प्रस्तुतिकरण रहेको प्राविधिक समितिका सभापति प्राडा कुमार सापकोटाले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र विभाग र यसको भूतपूर्व विद्यार्थी समाजले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनलाई जैविक विविधताको क्षेत्रमा कार्यरत पाँच वटा संस्थाले सहयोग गरेका थिए । प्राणीशास्त्र विषयको केन्द्रीय विभाग स्थापना भएको ५६ वर्षपछि र नेपालमै प्राणीविज्ञानको यो पहिलो सम्मेलन भएको आयोजकले दाबी गरेका छन् ।
अरु विज्ञानहरुभन्दा पछाडि परेको भनिएको प्राणीविज्ञानलाई मूलधारमा ल्याउने प्रयास स्वरुप आयोजना गरिएको सो सम्मेलनले नेपाली युवा प्राणीशास्त्रीहरुलाई अनुसन्धानमा उत्प्रेरित गर्ने र प्राणीविज्ञानले देशको समृद्धिमा सहयोग पुर्याउने आसा गरिएको केन्द्रीय विभागका प्रमुख प्राडा तेजबहादुर थापाले बताए । प्राडा थापाले आगामी वर्षदेखि नियमित रुपमा सम्मेलन आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरे ।
भर्चुअल रुपमा गरिएको सो वैज्ञानिक सम्मेलनको समापन कार्यक्रममा बोल्दै त्रिभुवन विश्व विद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुषालले प्राणीशास्त्र केन्द्रीय विभागले उदाहरणीय र अनुशरणीय काम गरेको भन्दै अन्य विभागले पनि यस्तो कार्यक्रम गर्न प्रेरणा लिन सक्ने बताए ।
कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव सिद्धार्थबज्र बज्राचार्य, विश्व संरक्षण संघका नेपाल प्रतिनिधि डा. प्रल्हाद थापा, विश्व वन्य जन्तु कोषका नेपाल निर्देशक डा.घनश्याम गुरुङ, जुलोजिकल सोसाइटी लण्डनका नेपाल प्रतिनिधि डा. हेमसागर बरालगायतले बोलेका थिए ।
तीन दिनअघि शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सम्मेलनको उद्घाटन गरेका थिए ।