खबर पूर्वाञ्चल
श्वासप्रश्वासमा समस्या भएका विरामीलाई उपचारका लागि सप्तरीबाट विराटनगर ल्याउँदै गरेको एम्बुलेन्स भारतीय लहरीमा ठोक्किएर दुर्घटना भएको हो ।
रोकेर राखेको भारतीय लहरीमा एम्बुलेन्स ठोक्किएर आज बिहान १ बजेतिर सप्तरीबाट बिरामी बोकेर विराटनगरतर्फ आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स दुर्घटना भएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काक जानकारी दिए । एनएल ०१ एल ०३३६ नम्बरको भारतीय लहरीमा पछाडिबाट ठोक्किएर एम्बुलेन्स दुर्घटना भएको हो ।
बिग्रिएको भनेर राजमार्गको सडकमा लहरी रोकेर राखेको खुलेको छ । एसपी खड्काका अनुसार दुर्घटनामा सप्तरीको तिलाठी कोइलाडी –२ का ६५ वर्षीय नुनुलाल मण्डलको मृत्यु भएको हो । एम्बुलेन्स लहरीमा ठोक्किएपछि भएको दुर्घटनामा परेर गम्भीर घाइते हुन पुगेका उनको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
एक्कासि दमले च्यापेपछि मण्डललाई बीपी विचार समाज राजविराजको एम्बुलेन्समा राखेर उपचारका लागि विराटनगरको गोल्डेन अस्पतालतर्फ ल्याइँदै थियो । उपचारका लागि लिएर गएको एम्बुलेन्स दुर्घटनामा परेर मृत्यु भएपछि उनले उपचार गराउने अस्पतालसम्म पनि पुग्न पाएनन् । प्रहरीका अनुसार मृतक मण्डल दमका पुराना रोगी रहेको खुलेको छ ।
दुर्घटनामा एम्बुलेन्समा सवार तिलाठी कोइलाडीकै ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल घाइते भएका छन् । तीनै जना घाइतेको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार एम्बुलेन्स चालक हरिनारायण यादव फरार रहेका कारण खोजी तीव्र पारिएको छ ।
दुर्घटनामा परेर एम्बुलेन्समा पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ ।