खबर पूर्वाञ्चल
केराबारी गाउँपालिका–९ बेलचौरीका ३० वर्षीय बिक्की ऋषिदेवको विराटनगरको नोबेल मेडिकल कलेजमा शुक्रबार टाउकोको शल्यक्रियाका क्रममा मृत्यु भएका थियो । अस्पतालले टाउकोको शल्यक्रियापछि मृत्यु भएका उनको शव केराबारीमा लगेर अन्तिम संस्कार गर्न चितामा राखेपछि पेट चिरेको देखिएको थियो । त्यसपछि आफन्तले शव उठाएर पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेका छन् ।
अति विपन्न परिवारका बिक्कीलाई स्थानीयले चन्दा उठाएर नोबेलमा उपचारको लागि भर्ना गरेका थिए । शल्यक्रियापछि शनिबार नै उनको मृत्यु भएकोमा अस्पतालले पैसा सबै नतिरेसम्म शव नदिने भन्दै तीन दिनसम्म रोकेर राखेको थियो । स्थानीयले पुनः चन्दा उठाएर उपचार खर्च दिएपछि सोमबार साँझ मृतकको शव लिएर आफन्त केराबारी पुगेका थिए । राति करिब ८ बजे चितामा राखेर आगो लगाउनुअघि कपडा खोल्दा पेटमा प्वाल देखिएको स्थानीय राम कार्कीले जानकारी दिए ।
नाइटो नजिकै पेटमा पाँच टाँका लगाएको देखिएपछि स्थानीय र आफन्तले शवको अन्त्येष्टि नगरी राति १२ बजे चिताबाट उठाएर पोष्टमार्टमका लागि शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगेका हन् ।
स्थानीयले शंका गर्दै पोष्टमार्टम गर्नुपर्ने बताएपछि राति नै शव अस्पतालसम्म र्पुयाइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । स्थानीयले घटना शंकास्पद भएकोले छानविन हुनुपर्ने बताएका छन् ।
बिक्कीको टाउकोको शल्यक्रिया गर्दा १ लाख ८२ हजार २ सय रुपैयाँको बिल नोबेलले उठाएको थियो । सो रमकमध्ये ५८ हजार रुपैयाँ सरकारको विपन्न नागरिक सहायता कोषबाट र बाँकी रकम चन्दा उठाएर तिरेको कार्कीले जानकारी दिए ।
गरिब र असाहयको निःशुल्क उपचार गरिरहेको प्रचार गर्ने नोबेलले अतिविपन्न विकि ऋषिदेवको उपचार खर्चमा छुट दिन ईन्कार गर्दै शव नै बन्धक बनाएको थियो । स्थानीयको सहयोगमा रकम बुझाएर अन्तिम शव लगेपछि संस्कार गर्नलाग्दा पेट चिरेको देखिएपछि पोष्र्टमार्टमको तयारी गरिएको मृतकका आफन्त सुमन ऋषिदेवले जानकारी दिए ।