खबर पूर्वाञ्चल
मोरङमा ४ र सुनसरीमा ३ जनाको मृत्यु भएको हो । योसँगै प्रदेशमा मृत्यु हुनेको संख्या १ सय ३८ जना पुगेको छ ।
आइतबार राति र सोमबार बिहान गरी मोरङका चारजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तीन पुरुष र एक महिला छन् । मृतक मध्ये एक जना अस्पताल सञ्चालक पनि हन् ।
उपचारका क्रममा दुईजनाको नोबेल शिक्षण अस्पताल, एकजनाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र र एकजनाको न्युरो अस्पतालमा मृत्यु भएको हो ।
मोरङको ग्रामथान गाउँपालिका–४ का ६६ वर्षीय वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा आज विहान मृत्यु भएको छ । अस्पताल प्रबन्ध नारायण दाहालका अनुसार कोभिड अस्पतालको आइसोलेसनमा विहान ९ बजेतिर वृद्धको मृत्यु भएको हो ।
निमोनियाको समस्या रहेकोभन्दै अस्पताल ल्याइएका उनको पीसीआर परीक्षण गराउँदा असोज २९ गते रिपोर्ट पोजेटिभ आएको दाहालले बताए ।
नोवेलमै विराटनगर महानगरपालिका–३ का ६६ वर्षीय वृद्ध पुरुषको आइतबार राति ११ बजेतिर मृत्यु भएको छ । कोरोनाको लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा असोज २७ गते रिपोर्ट पोजेटिभ आएको थियो ।
कोरोना पुष्टि भए पनि उनलाई होम आइसोलेसनमै राखिएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि वृद्धलाई थप उपचारका लागि आइतबार नोबेलको आइसोलेसनमा भर्ना गरिएको थियो । उपचारका क्रममा मृत्यु भएको हो ।
विराटनगरकै कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत संक्रमित महिलाको ज्यान गएको छ ।
विराटनगर–२ की ६० वर्षीया महिलाको आज विहान ४ बजेतिर मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए । उनका अनुसार असोज १९ गते कोरोना पुष्टि भएपछि वृद्धलाई उपचारका लागि कोभिड अस्पताल भर्ना गरिएको थियो ।
विराटनगरकै न्युरो अस्पतालमा उपचाररत एक संक्रमित पुरुषको आज विहान मृत्यु भएको छ । न्युरोको कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएका मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुषको आज बिहान ३ बजेतिर मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए ।
मृतक पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रा।लिका सञ्चालक समेत हुन् । पथरीशनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यका अनुसार मृतकलाई पीसीआर परीक्षण गराउँदा असोज २२ गते रिपोर्ट पोजेटिभ आएको थियो ।
रिपोर्ट पोजेटिभ आउनुभन्दा अघिल्लै दिन श्वासप्रश्वासमा समस्या भएपछि घरमै अक्सिजन दिएर राखिएको उनले बताए ।
रिपोर्ट पोजेटिभ आएर थप समस्या भएपछि २२ गते न्युरो अस्पतालमा भर्ना गरिएको थियो । आईसीयूमा उपचाररत उनको स्वास्थ्यमा धेरै समस्या थपिएपछि थप उपचारका लागि भेन्टिलेटरमा राख्नु परेको आचार्यले बताए । भेन्टिलेटरमै उपचारका क्रममा उनको मृत्यु गएको हो ।
आचार्यका अनुसार मृतकमा मृगौला सम्बन्धी पुरानै समस्या थियो । उनी मृगौलाको नियमित डाइलासिस गराउँदै आएका बिरामी हुन् ।
उता सुनसरीको धरानका दुर्इृ जनाको घरैमा मृत्यु भएको हो भने इटहरीका १ संक्रमितको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
आज विहान करिब २ बजेतिर धरान ८ एघारघरेका ७० वर्षीय वृद्धको घरैमा मृत्यु भएको छ । उनी मृगौलाका विरामी थिए । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइलाइसिस गराइरहेका उनलाई परिवारले आइतबार घर लगेका थिए ।
यसैगरि, धरान १५, बुढासुब्बा चोक नजिकै पनि ७४ बर्षका वृद्धको आजै बिहान ६ बजेतिर घरैमै मृत्यु भएको हो । शनिबार पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण देखिएपछि उनी होम आइसोलेसनमा बसेका थिए । उनको मुटुको वाइपास सर्जरी गरेको थियो ।
यस्तै सुनसरीकै इटहरी २० का ७८ बर्षीय पुरुषको आजै विहान ३ बजेर ५ मिनेटमा बीपी कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार असोज १९ गते प्रतिष्ठान भर्ना गरिएका उनमा कार्तिक १ गते संक्रमण पुष्टि भएको थियो । उनलाई एनेमियालगायत दीर्घ रोगहरु थियो ।