पूर्वाञ्चल खबर
तस्करीको लाइन चलेको एसपी खड्काले पत्तो पाएपछि सीमा नाकाको इन्चार्ज परिवर्तन गरेका छन् । नाकामा रहेको प्रहरीका इन्चार्ज परिवर्तन गरेपछि अहिले तस्करीजन्य गतिविधी ठप्प भएको यहाँका स्थानियको भनाई छ ।
प्रहरीको सेटिङमा नोचा नाकाबाट तस्करीजन्य गतिविध हुने गरेको संचारमाध्यमहरूबाट सार्वजनिक भएको थियो । मोरङ प्रहरी प्रमुख एसपी खड्काले गडरिया प्रहरी चौकीका इन्चार्ज असई रोशन चौधरीलाई तानेर उनको ठाउँमा असई प्रलात बोगटीलाई पठाएका छन् । आपगाछी प्रहरी चौकीका इन्चार्ज बोगटीलाई गडरिया प्रहरी चौकीका पठाएको हो । तत्कालिन गडरिया चौकीका इन्चार्ज चौधरी विवादमा मुछिएपछि उनलाई जिल्ला तानिएको हो । अहिले उनीमाथि अनुसन्धान भइरहेको छ ।
सीमा नाकामा प्रहरी इन्र्चाज परिवर्तन गरेपछि अहिले नोचा, कदमहाबाट हुने तस्करीजन्य गतिविधीहरू ठप्प छ । नेपाल र भारतको सीमा नाकामा पर्ने नोचाका स्थानिय घरेलु उपभोग्य खाद्यबस्तु खरिद गर्न भारतीय बजार सुन्दरीमोड र कवाडी बजार जाने गरेका थिए । सुरक्षामा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीले सीमा नाका कडाइ गरेपछि अहिले आवतजावत ठप्प भएको प्रहरीले जनाएको छ ।
नेपालबाट विशेष गरी केराउ तस्करी गरेर भारत लैजाने र भारतबाट ठूलो परिमाणमा गहुँलगायत खाद्यान्न, लत्ताकपडा आदि नेपाल तर्फ ल्याउने काममा नोचा नाका प्रयोग हुने गरेको थियो । प्रहरीको इन्चार्ज परिवर्तन गरि सिमा नाका कडाइ गरेपछि तस्करीमा लागेको गिराहको भागाभाग भएको बुझिएको छ ।
मोरङको पूर्वी दक्षिण क्षेत्र सहज भएको भन्दै तस्करीको धन्दा चलाउने गिरोह अहिले सुनसरीतर्फको सिमा नाका तर्फ लागेको प्रहरी स्रोतको भनाई छ । ‘नोचाको सीमा नाकाहरूबाट यस अघि ट्याक्टरमा हरियो मटर भारत जाने गरेको थियो,’ नोचाका एक जना स्थानियले भने, ‘अहिले सीमाका प्रहरी इन्र्चाज परिवर्तन गरेपछि तस्करीजन्य गतिविधीहरू ठप्प छ ।’
नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्करीजन्य गतिविधीमा कडाइ गरेपछि असोज महिना ठूलो परिमाणको सामाग्री बरामद गरि भन्सारमा दाखिला गरेको पाइएको छ । मोरङ प्रहरीले असोज महिनामा मात्र ११ लाख ५६ हजार २ सय ५० रुपैयाँ राजस्वन संकलन गरेको प्रवक्ता डिएसी मानबहादुर राईले जानकारी दिए । अवैध रुपमा चोरी, तस्करी गरि भन्सार छलेर ल्याएको विभिन्न सामाग्री बरामदद गरि मोरङ प्रहरीले सो मुल्य बराबरको सामान असोज महिनामा मात्र विराटनगर भन्सार कार्यालयमा दाखिला गरेको डिएसपी राईले बताए ।