AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मुख्यमन्त्री राईले उद्घाटन गरे विराटनगरमा ३० शैय्याको आइसोलेसन सेन्टर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ आश्विन २०७७, शुक्रबार २०:४८
927
Shares
विराटनगर / मुख्यमन्त्री शेरधन राईले लायन्स क्लबले विराटनगर १२ मा निर्माण गरेको ३० शैय्याको आइसोलेसन आज औपचारिक रुपमा उद्घाटन गरेका छन् । विराटनगरमा संस्थागत रुपमा निर्माण भएको कोभिड १९ आइसोलेसन सेन्टर मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो ।

होटलमा पैसा तिरेर आइसोलेसन बस्न नसक्ने, घर वा डेरामा बस्दा समस्या हुने तथा निजी अस्पतालमा खर्च गरेर आइसोलेसन सेवा लिन नसक्ने मानिसहरुलाई सहयोग गर्ने उद्देश्यले लायन्सले प्रदेश सरकारसँग समन्वय गरेर उक्त आइसोलेसन सेन्टर निर्माण गरेको हो ।

आइसोलेसन उद्घाटन गर्दै मुख्यमन्त्री राईले दैनिक रुपमा संक्रमितको संख्या बढिरहेको र अब अस्पतालहरुले पनि धान्न नसक्ने अवस्था आइसकेकोले सरकारले संस्थागत आइसोलेसन निर्माण गर्ने सोच अघि बढाएको बताए । उनले संस्थागत आइसोलेसनप्रति भने संस्थाहरुको चासो न्यून देखिएको गुनासो समेत गरे ।

कोरोना भाइरस संक्रमण बढ्दै जाँदा अस्पतालहरुको क्षमता बढाउनु पर्ने, आइसोसेलन र आइसियुहरु थप्नु पर्ने अवस्थामा सरकारले एक हजार सैय्याको संस्थागत आइसोलेसन निर्माण गर्न चाहेको बताए । संस्थागत आइसोलेसन निर्माण गर्ने तर्फ सरकारले प्रस्ताव आव्हान गरेको भएपनि त्यसप्रति समुदायको चासो भने कम पाएको उनको भनाई थियो । ‘कोभिड अस्पतालले अहिलेको बढ्दो संक्रमणको अवस्थालाई थेग्न सक्दैन त्यसैले हामीले एक हजार बेडको संस्थागत आइसोलेन बनाउनु पर्छ भनेर प्रस्ताव आव्हान गर्यों,’ मुख्यमन्त्री राईले भने ‘संस्थागत आइसोलेसनप्रति आकर्षण देखिएको छैन ।’

प्रदेश १ मा दैनिक सरदर ५ सय जना नयाँ संक्रमित पहिचान भइरहेको भन्दै मुख्यमन्त्री राईले एक हप्तापछि दैनिक एक हजार भन्दा बढी नयाँ संक्रमित भेटिने अवस्था रहेको बताए । उनले होम आइसोलेसनहरुको अनुगमन पनि सरकारले राम्ररी गर्न नसकिरहेको बताए । ‘हामीले होम आइसोलेसनहरुको व्यवस्थापन र अनुगमन पनि राम्ररी गर्न सकेका छैनौं,’ मुख्यमन्त्री राइले भने ‘यो विपत्तिमा सरकारले काम गरिरहेकै छ, विश्वव्यापी रुपमा धनी गरीब, ठुला साना कसैलाई भेदभाव नगरेको भाइरससँग सबै मिलेर लड्नु पर्छ ।’ प्रदेश १ का ४ हजार १ सय सक्रिय संक्रमित मध्ये ३ हजार ६ सय जना होम आइसोलेसनमा बसेका छन् ।

संस्थागत रुपमा निर्माण भएको आइसोलेसनलाई सरकारले केवल आइसोलेसनको रुपमा मान नभई अक्सिजन प्लान्ट र आइसियुसहितको सेवा विस्तार गर्न चाहेको बताए । सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई निर्देशन दिँदै मुख्यमन्त्री राईले भने ‘यसलाई चाहिने उपकरण, जनशक्ति र अन्य कुराहरुको व्यवस्थापन सामाजिक विकास मन्त्री मार्फत अगाडि बढ्छ ।’

भौतिक दुरी कायम गरेर लामो समयदेखि कोभिड १९ का विरुद्ध मानिसले संघर्ष गरिरहेको र मानिसले मात्रै यस्ता विपत्तिको सामना गरेर जीत हाशिल गर्नसक्ने उनको भनाई थियो । उहाँले आइसोलेसन निर्माण गर्ने कार्यमा सहयोग गर्ने र पहल गर्ने जेसिसका सबै सदस्यहरुको प्रशंशा गर्दै धन्यवाद दिए ।

उद्घाटन समारोहमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले एक महिना अघि नै उद्घाटनको तयारी गरेको आइसोलेसन सेन्टर आफु स्वयं संक्रमित हुनपुग्दा केही ढिलो आरम्भ हुन गएको बताए । उनले सरकारले आइसोलेसनका लागि आवश्यक सबै सहयोग उपलव्ध गराउने विश्वाससमेत व्यक्त गरे ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की, वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने लाायन्सका नेताहरु फुलकुमार लालवानी, भविसकुमार श्रेष्ठ लगायतले बोले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर