हाँस्यव्यङ्ग्य कवि लावण्य सापकोटाको निधन

खबर पूर्वाञ्चल, २३ आश्विन २०७७, शुक्रबार १९:२४

विराटनगर / हाँस्यव्यङ्ग्य कवि लावण्य सापकोटाको निधन भएको छ ।
केही समयदेखि श्वासप्रश्वासबाट थलिएका कवि सापकोटाको बिहीबार राति निधन भएको हो ।

विराटनगर–११ निवासी सापकोटा विगत पाँच दशकभन्दा लामो समयदेखि साहित्य लेखनमा सक्रिय थिए । विशेष गरी हाँस्यव्यङ्ग्य विधामा कलम चलाउने सापकोटाका ‘हाईसञ्चो’ र ‘अलख निरञ्जन’ दुई वटा हाँस्यव्यङ्ग्य कवितासंग्रह प्रकाशित छन् । भाषाशास्त्री महानन्द सापकोटाका सुपुत्रका रुपमा वि.सं. १९९७ वैशाख १ गते धरानमा जन्मिएका सापकोटा २०१९ सालमा निजामती सेवामा प्रवेश गरेका थिए । उनी २०४९ सालमा वरिष्ठ वन अधिकृत पदबाट सेवा निवृत्त भएका थिए ।

समसामयिक विषयमा तीखो प्रवाह गर्न सिपालु सापकोटाले कविहरूलाई समेत व्यङ्ग्य गर्न पछि नपर्ने प्राज्ञ विवश पोखरेल बताउँछन् । “कविहरूका चरित्रका विषयलाई समेत लावण्य दाइले आफ्नो लेखनमा उतार्नुभएको थियो,” पोखरेलले भने, “लावण्य सापकोटा कार्यक्रममा भएपछि अर्कै रौनक देखिन्थ्यो ।” साहित्यिक गोष्ठी भनेपछि सापकोटा हुरुक्कै हुन्थे । पछिल्लो समय शारीरिक अस्वस्थता हुँदाहुँदै पनि कार्यक्रममा जाने गर्दथे । निरन्तरतको लगावकै कारण सापकोटाले हाँस्यव्यङ्ग्य साहित्यमा छुट्टै छाप छाडेर गएको वरिष्ठ समालोचक दधिराज सुवेदीको ठम्याइ छ ।

पत्रकारसमेत रहेका युवाकवि मीनकुमार नवोदितले सापकोटाको अवसानले विराटनगरको हाँस्यव्यङ्ग्य क्षेत्र खाली भएको प्रतिक्रिया दिए । हाँस्यव्यङ्ग्य साहित्यमा सापकोटालाई चुनौती दिने विराटनगरमा कोही पनि नभएको नवोदितको भनाइ छ । “विराटनगरको हाँस्यव्यङ्ग्य साहित्य टुहुरोजस्तै भएको छ,” उनले भने, “उहाँको अवसानसँगै खाली भएको हाँस्यव्यङ्ग्यको स्थान परिपूर्ति हुन निकै समय लाग्छ ।” सरल भाषाशैलीमा तीखो व्यङ्ग्य गर्न खप्पीस सापकोटाका श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आज विराटनगर होटखोलास्थित श्मशान हाटमा अन्त्येष्टि गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५