पूर्वाञ्चल खबर
लागत मूल्यभन्दा तीनगुणा बढीमा मसला बिक्री गरेको अनुगमन टोलीले फेला पारेपछि उक्त मसला उद्योगलाई वाणिज्य तथा उपभोक्ता संरक्षण हित कार्यालय विराटनगरले दुई लाख रुपैयाँ जरिवना गरेको छ । उद्योगले ४ सय ५० रुपैया प्रति किलो पाइने गरम मसलाको मूल्य १ हजार २ सय रुपैयामा बिक्री भईरहेको पाइएपछि वाणिज्य कार्यालय नेतृत्वको अनुगमन टोलीले जरिवाना गरेकोे हो ।
‘एक केजीमा ५० ग्रामको २० प्याकेट मसला हुने रहेछ,’ वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले भने, ‘प्रतिकेजी ४ सय ५० मूल्य पर्ने मसलाको एमआरपी १ हजार २ सय राखेर बिक्री गरेको भेटियो ।’ बि.के.एम. मसला उद्योगले अनुचित क्रियाकलाप गरि अधिकतम मुनाफा राखेर मसला विक्री गरेको भेटिएपछि उपभोक्ता संक्षरण ऐन अनुसार पहिलो पटक २ लाख रुपैयाँ जरिवना गरेर कारवाही गरेको उनले बताए ।
गरम मसलाको मूल्य १५० प्रतिशतभन्दा बढि बृद्धि गरेपछि उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार ३० प्रतिशत भन्दा बढी मूल्य लिएमा २ लाखदेखि ३ लाख रुपैयासम्म जरिवाना लाग्ने कानुनी प्रावधान छ । कार्यालयले त्यहि प्रावधानमा टेकेर पहिलो पटक भएकाले २ लाख रुपैया जरिवाना तोकिएको उनले बताए ।
लकडाउनको बाहानामा विराटनगरका बजारमा तरकारी, खाद्यन्न लगायतको मूल्यमा बृद्धि भएको गुनासो आएपछि वाणिज्य कार्यालय विराटनगरले अनुगमनलाई तिव्रता दिएको छ ।
हरियो तरकारी, आलु, प्याज, गोलभेडा, खानेतेल चियापत्ति मसलालगायत अन्य खाद्यबस्तुहरुमा अत्याधिक मुल्य बृद्धि भएको गुनासो आएपछि बजार अनुगमनलाई तिव्रता दिइएको हो ।