खबर पूर्वाञ्चल
जूम प्रविधिमार्फत गरिएको उक्त गोष्ठीका प्रमुख अतिथि नेपाली कांगे्रस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले भाषा, साहित्य र संस्कृतिसम्बन्धी विषयमा लेखक साहित्यकारहरूबाट आफूले महत्वपूर्ण सुझावको अपेक्षा गरेको बताए । बीपीले उल्लेख गरेको राष्ट्रवादको विषयलाई अझ प्रवद्र्धन गर्दे जानुपर्ने र त्यसका लागि नेपाली लेखक संघजस्ता संस्थाको महत्वपूर्ण भूमिका रहेको समेत उनले बताए ।
गोष्ठीका सभापति एवं नेपाली लेखक संघ मोरङका अध्यक्ष गोकुल अधिकारीले बीपी स्वतन्त्रतापूर्वक साहित्य सिर्जना गर्ने व्यक्तित्व भएकाले लेखन स्वतन्त्रतासम्बन्धी विषयमा केन्द्रित हुँदै बीपीप्रति श्रद्धासुमन अर्पण गर्न यस किसिमको परिचर्चा कार्यक्रम आयोजना गरिएको बताए ।
नेपाली लेखक संघ मोरङका सचिव मीनकुमार नवोदितले नेपाली लेखक संघजस्ता संस्थाको माध्यमबाट बीपीको साहित्यिक व्यक्तित्वलाई उजागर पार्दै लैजानुपर्ने र त्यसका लागि लेखक संघ मोरङले विभिन्न गतिविधिहरु गर्दै जाने उल्लेख गरे ।
संघका सल्लाहकार दधिराज सुवेदीले नेपाली लेखक संघ मोरङले ‘विराट लेखक सम्मेलन’जस्ता राष्ट्रियस्तरका ऐतिहासिक महत्वका कार्यक्रमदेखि लिएर भाषाशास्त्री बालकृष्ण पोखरेल, राष्ट्रकवि माधव घिमिरे र शताब्दीपुरुष सत्यमोहनका आँगनमै पुगेर काव्यसभामार्फत उनीहरुमा सम्मान अर्पण गर्नेजस्तो महत्वपूर्ण काम गरिसकेको स्मरण गर्दै बन्दाबन्दीकै समयमा पनि बौद्धिक व्यक्तित्वहरुलाई भेला पारेर इन्टरनेट प्रविधिको माध्यमद्वारा यस किसिमको सभा सम्पन्न गर्न सकेकोमा सो संघको वर्तमान कार्यसमितिकोे उच्च प्रशंसा गरे ।
गोष्ठी कार्यक्रमका संयोजक एवं नेपाली लेखक संघ मोरङ कार्यसमिति सदस्य निर्मला कोइरालाले सम्पूर्ण सहभागीहरुमा स्वागत अभिवादन गर्दै परिचर्चा कार्यक्रमको सहजीकरण गरेकी थिइन् । सो गोष्ठीमा डा.तुलसी भट्टराई, पुरुषोत्तम दाहाल, डा. ज्ञानू पाण्डे, सनत रेग्मी, श्रवण मुकारुङ, कृष्ण धरावासी, डा.कुमार कोइराला, कृष्ण प्रधान र रत्नमणि नेपाल र दधिराज सुवेदीले लेखन स्वतन्त्रताका विविध पक्षमाथि आ–आफ्नो धारणा प्रकट गरेका थिए । कार्यक्रममा कवि प्रह्लाद पोखरेल र राधिका गुरागाईंले बीपीमाथि केन्द्रित श्रद्धासुमन कविता वाचन गरेका थिए । सो जूम गोष्ठीमा साहित्यकारहरू डा. गोविन्दराज भट्टराई, कविराज न्यौपाने, वनमाली निराकार, विवश पोखरेल, मनोज न्यौपाने, नारायण सापकोटा, दिङ्लाली कान्छो, चूडामणि नेपाल अकिञ्चन, कविराज पोखरेल, सुन्दर पन्त, नारायण तिम्सिना, इलम शाहीलगायतका साहित्यकारहरूको उपस्थिति रहेको थियो ।
सो अन्तरक्रियामा प्रगतिवादजस्तो निर्देशित साहित्यले मात्र नेपाली भाषा साहित्यको स्तर उक्सन नसक्ने भएकाले स्वतन्त्र लेखनको अत्यन्तै ठूलो महत्व रहेको कुरा सबैजसो सहभागी विद्वानहरूले उल्लेख गरेका थिए । बीपीले व्यक्त गरेको लेखकीय अराजकतालाई स्वतन्त्र र विशिष्ठ लेखनको रूपमा बुझ्नुपर्ने निष्कर्षका साथ गोष्ठी समापन भएको थियो ।
नेपाली लेखक संघ मोरङले बीपी जयन्तीको दिन विराटनगरस्थित बीपीकै आँगनमा पुगेर काव्यिक श्रद्धाञ्जलीको कार्यक्रम गर्नेगरेकोमा यसपटक बन्दाबन्दीका कारण यसरी जूममार्फत श्रद्धासुमन अर्पण गरिएको थियो । आगामी वर्षहरुमा विगतमाझैँ बीपी निवासमै पुगेर यस किसिमको कार्यक्रमलाई निरन्तरता दिने नेपाली लेखक सङ्घ मोरङका अध्यक्ष गोकुल अधिकारीले बताए ।
तपाईको प्रतिक्रिया