खबर पूर्वाञ्चल
नेपाल यातायात मजदुर संघद्धारा आयोजित डिजिटल जुम मिटिङका क्रममा अन्तर्राष्टिय यातायात मजदुर महासंघ दक्षिण एशियाका प्रमुख संगम त्रिपाठीले विश्वभरका श्रमिकहरुको अवस्था दिनानुदिन खराब बन्दै गएको बताएका छन् । सडक यातायात, हवाई, तथा रेल्वेका श्रमिक मजदुरलाई कोरोना भाइरससंगै लकडाउनले बढि प्रभावित बनाएको बताएका त्रिपाठीले सरकारले मजदुरको हकमा उचित ब्यवस्थापन गर्न नसकेको गुनासो गरे । उनले भारतमा समेत कार्य गर्ने लाखौं नेपाली मजदुरलाई समेत भारतीय सरकारले सही ब्यवस्थापन गर्न नसकेको उल्लेख गरे । लकडाउनका नाममा ४ घण्टाको भाषण लगत्तै हिड्डुलमा रोक लगाएको भारतीय सरकारले श्रमिकलाई गाँस, बासको जोहो गर्ने समय समेत दिन नसकेको उनको भनाई छ ।
छलफलका क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोभिडको महामारीसंगै यातायात क्षेत्रका मजदुर अधिक प्रभावित भएको उल्लेख गरे । काठमाडौंमा मात्र लाखौंको संख्यामा ट्याक्सी मजदुर सेवाबाट बन्चित भएको बताएका नेता कोइरालाले जनताको पीर मर्कामा सरकार जवाफहीन बनेको बताए । कोभिडका कारण गएको सात महिनायता सरकारले सुशासन गुमाएको बताएका उनले कोभिड महामारीका बीच श्रमिकप्रति सरकार गैह्रजिम्मेवार बनेको बताए । त्यसैगरि छलफलमा भारत र नेपालबीच आत्मीय सम्बन्ध रहेको बताएका अल इण्डिया रेल्वेमेन फेडरेसनका महासचिव शिवा गोपाल मिश्राले लकडाउनका क्रममा भारतमा कार्यरत श्रमिकहरुलाई सरकारले बेवास्ता गरेको गुनासो गरेका थिए ।
कार्यक्रममा इण्डियन नेशनल ट्रेड यूनियन कांग्रेस(आइएनटियुसी)का सचिव महेन्द्र गहरातले महामारीकाबीच सरकारले श्रमिकलाई राहत प्याकेज उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
नेपालको ग्राहस्थ उत्पादनमा २९ प्रतिशत बैदेशिक रेमिट्यान्सको सहभागिता रहेको बताएका ट्रेड यूनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले सरकारले बैदेशिक श्रमिकलाई बेवास्ता गरेको आरोप लगाए। रेमिट्यान्स भित्राउने श्रमिकलाई घर फर्काउन हवाई टिकट, होटल क्वारेन्टिनमा शुल्क लगाउने सरकारका निर्णयमा उनले आपत्ती जनाएका थिए ।
कोभिड कारण दैनिक ज्याला मजदुरी गरि परिवार पाल्ने श्रमिक बढि प्रभावित भएको बताएका आचार्यले तीन तहका सरकारले दैनिक काम गर्ने श्रमिकको विषयमा जिम्मेवारीहिन भएको बताए ।
ट्रेड यूनियन कांग्रेसका अनुसार भारतबाहेक अन्य राष्ट्रमा करिब ३५ लाख नेपाली बैदेशिक रोजगारीका क्रममा रहेका छन् । त्यसैगरि लकडाउनका क्रममा भारतबाट नेपालीहरु फर्कदा उचित क्वारेन्टिनको ब्यवस्था गर्न नसक्दा अवस्था थप खराब भएको यूनियनको ठम्माइ छ ।
छलफलमा नेपाल ट्ेड यूनियनका उपाध्यक्ष अजयकुमार राई, यातायात मजदुर संघका वरिष्ठ सल्लाहकार बिजय स्वार, ट्रेड यूनियनका महासचिव योगेन्द्र कुँवरले सम्बोधन गरेका थिए। त्यसैगरि कार्यक्रमको अध्यक्ष यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारीले गरेका थिए ।