खबर पूर्वाञ्चल
प्रदेश १ सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको कोभिड १९ संवन्धि छलफल कार्यक्रममा सरोकारवालाहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ मा पछिल्लो समय कोरोना संक्रमणको दर बृद्धि भएको बताए । केही समयदेखि घटेको संक्रमण पछिल्लो एक सातामा बढेर गएको उनले बताए । संक्रमण बढेसँगै सचेतना आवश्यक रहेकोमा उनले जोड दिए । व्यक्ति आँफै सतर्क नभए संक्रमण झन बढेर जाने मन्त्री घिमिरेले बताए । कोरोना संवन्धि सतर्कता नअपनाउनेलाई कानुनको सहारा लिएर भएपनि सर्तकता अपनाउन लगाउनुपर्नेमा मन्त्री घिमिरेले बताए । लकडाउनले संक्रमण नियन्त्रण हुने नदेखिएकाले व्यक्ति आँफै सतर्क हुने समय आएको मन्त्री घिमिरेले बताए ।
जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले स्थानीय तहहरुले सार्वजनिक सेवा बन्द गर्दैमा संक्रमण नियन्त्रणमा नआउने देखिएकाले सेवाग्राहीको रेकर्ड राखेर सेवा प्रवाह गर्नुपर्ने बताए । उनले व्यक्ति सचेत हुने बेला आएको समेत बताए ।
निजि अस्पताल सञ्चालकहरुको संगठन (अफिन)का प्रदेश १ संयोजक डा. सुनिलचन्द्र अधिकारीले कोरोना संक्रमणबाट जोगिनका लागि अनुशासन आवश्यक रहेकोमा जोड दिए । उनले होम आईसोलेसनमा बस्न सक्नेहरुलाई त्यस्तो सुविधा सरकारले दिनुपर्ने बताए । मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले अनुशासनमा बस्न नसके संक्रमण नियन्त्रणमा समस्या हुने बताए । सीमामा सुरक्षा व्यवस्था कडा बनाईएको उनले बताए ।
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका संयोजक डा. डेनप्रसाद आचार्यले संक्रमण बढेसँगै सरकारले संक्रमितको उपचार गर्न नसक्ने भएकाले ब्यक्ति आँफै सचेत हुनुपर्नेमा जोड दिए । कार्यक्रममा सुनसरीको दुहवी नगरपालिकाका प्रमुख वेद गच्छदार, नेकपा मोरंङका नेता रामलाल साह, नेकपा महानगर कमिटी अध्यक्ष सागर थापा, नेपाली काँग्रेस विराटनगरका कार्यबहाक सभापति अरुण न्यौपानेले प्रदेश सरकारले कोरोना परीक्षणको दायरा बढाउनुपर्ने सुझाव दिए ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले प्रदेश १ र विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले विराटनगरको कोरोना संक्रमणको अवस्थाका बारेमा जानकारी गराए ।