खबर पूर्वाञ्चल
तीन महिनादेखि उनीहरुलाई मोरङको सुनवर्षी नगरपालिका–९ स्थित मस्जिदमा राखिएको थियो । आवश्यक सबै प्रक्रिया पूरा भएर आफ्नो मुलुक फर्कने वातावरण बनेपछि उनीहरुले मोरङ छाडेका हुन् । पाकिस्तानी नागरिकहरु जेहाद, साहिद स्लाम, खान, अली, ज्यादा, उल्लाहा, खान, इम्त्याज र जामिन इस्लाम धर्म प्रचारका लागि भनेर गत चैत १० गते मोरङको सुनवर्षी आइपुगेका थिए । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि चैत ११ गतेबाट ‘लकडाउन’ सुरु भएपछि ६० वर्षमाथिका उनीहरुलाई मोरङ प्रशासनको निर्देशनमा मस्जिदमै क्वारेन्टाइनमा राखिएको थियो ।
‘लकडाउन’सँगै पाकिस्तानी नागरिकलाई बाहिर हिँडडुल, भेटघाट, धर्मको प्रचार गर्न र आफ्नो मुलुक फर्कन रोक लगाइएको थियो । कोरोना परीक्षण गर्दा सबै जनाको रिपोर्ट नेगेटिभ आएको मोरङ प्रशासनले जनाएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले पाकिस्तानी राजदूतावासको पहलमा मोरङमा रोकिएका सबै पाकिस्तानी नागरिकलाई आफ्नो मुलुक फर्कने वातावरण बनाइएको बताए । मोरङबाट काठमाडौं पुगेपछि उनीहरुलाई जहाजमार्फत पाकिस्तान पठाइने प्रजिअ भुजेलले जानकारी दिए ।