खबर पूर्वाञ्चल
हाटबजारमा खुद्रा पसल सञ्चालन गर्ने ब्यापारीहरुले आज सो बिषयको माग राख्दै विराटनगर महानगरपालिकामा धर्ना दिएका छन् । महानगरपालिका पछाडि शनिहाट लाग्ने ठाँउमा जम्मा भएका उनीहरुले महानगर प्रमुख भीम पराजुलीलाई भेटेर हाटबजार सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् । हाटबजार सञ्चालन गर्न नदिइएका कारण ब्यापार गर्न नपाएपछि परिवार पाल्न गाह्रो भएको ब्यापारीहरुले बताएका छन् ।
अधिकांश खुद्रा ब्यापारीहरुले विभिन्न बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएर ब्यापार सञ्चालन गर्दै आएकोमा पछिल्लो समय बैंक तथा बित्तिय संस्थाहरुले ब्याजको तगादा गर्न थालेपछि आफुहरु थप समस्यामा परेको उनीहरुले बताएका छन् । नगरक्षेत्रका सुपरमार्केट र मलहरु खुलिरहेको तथा चोकचोकमा समेत खुद्रा ब्यापारीहरुले पसल सञ्चालन गरिरहेको अवस्थामा हाटबजार सञ्चालनमा मात्र रोक लगाउन नहुने विराटनगर जामुनगाछीका ब्यापारी राजकुमार मेहताले बताए । सरकारले कि त समाजिक दूरी कायम गरेर हाट बजार लगाउन दिनुपर्ने कित ऋण चुक्ता गरि राहत उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।
विराटनगर महानगरपालिकाका विभिन्न ठाँउहरुमा बर्षको ३ सय ६५ दिननै बार अनुसार साप्ताहिक हाटबजार लाग्दै आएको छ । महानगरक्षेत्रमा विभिन्न ठाँउमागरि यसअघि दैनिक १० वटासम्म हाटबजार लाग्दै आएको ब्यापारीहरुले बताएका छन । एउटा हटियामा ७ सयसम्म ब्यापारीहरुले विभिन्न प्रकारका खुद्रा पसल सञ्चालन गर्ने गरेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया