नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता

खबर पूर्वाञ्चल, २३ जेष्ठ २०७७, शुक्रबार १९:४८

विराटनगर / प्रदेश १ सरकारले आज प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रस्तुत गरेका नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिइएको छ ।

‘मेरो कृषि मेरो पौरख’ नारासहितको कृषि कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको छ । नीति तथा कार्यक्रममा प्रदेश सरकारले बेरोजगार युवाहरूलाई उत्पादनशील क्षेत्रसँग जोड्न निब्र्याजी कृषि ऋण उत्पादन गराएर मेरो कृषि मेरो पौरख कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको हो ।

सरकारले सहकारी संस्थाहरूलाई प्राथमिकतामा राखेर कृषि कार्यक्रम चलाउने र त्यसका लागि उत्पादन सहकारीमा जोड दिने योजना सरकारको छ । बजार क्षेत्रमा जग्गा उपलब्ध गराउने र स्थानीय तहमा सहकारी कृषि बजार सञ्चालन गर्ने नीति सरकारको छ । उदयपुरको लंका टापु र मोरङको रतुवामाईमा विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने, विराटनगरमा शीतभण्डार स्थापना गराउने, मध्यपहाडी क्षेत्रमा मकै उत्पादन बढाउने योजना सरकारको छ । रोगब्याधिले कृषिबाली नष्ट भए कृषकलाई अनुदान दिने, निजी क्षेत्रको सहकार्यमा प्रांगारिक मल कारखाना स्थापना गर्ने र १० प्रतिशत रसायनिक मलको प्रयोग घटाउने योजना प्रदेश १ सरकारको छ ।

पशुपालन समूहलाई प्रांगारिक मल उत्पादनमा प्रोत्साहन गर्ने, धान, मकै र गहुँको बिउ उत्पादनको थालनी गर्ने, स्थानीय खादयान्न उत्पादनमा वृद्धि गराउने योजना सरकारको छ । उत्पादन किसानको बजार मूल्य सरकारको जिम्मा हो भन्ने नारासहित प्रदेशभरि ५ वटा कृषि केन्द्र स्थापना गर्ने र विशेष उत्पादन क्षेत्र तोक्ने घोषणा पनि सरकारले गरेको छ । कृषिमा दिने अनुदानलाई निरुत्साहित गर्ने, कृषिलाई सम्मानित पेशा बनाउनका लागि नमूना कृषकलाई सम्मान प्रोत्साहन गर्ने योजना सरकारको छ ।

सरकारले अग्र्यानिक कृषिलाई बढावा दिने र नमूना कृषकलाई विशेष सम्मान र प्रोत्साहन दिने सरकारको आगामी निति छ । वडा तहमा भूमि बैंक स्थापना गर्ने र जमिन बाँझो राख्न नदिने नीतिलाई कडाइका साथ पालना गराउने घोषणा सरकारले गरेको छ । प्रदेश १ सरकारले बृहत्त विराट क्षेत्रका लागि सम्भाव्यता अध्ययन अगाडि बढाउने घोषणा गरेको छ । विराटनगर चक्रपथ योजनालाई अगाडि बढाउने पनि घोषणा गरिएको छ ।

विपन्न समुदायका लागि जनता आवास कार्यक्रमलाई निरन्तरता दिने, इटहरीमा अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने, कोशी गाउँपालिका र इलाममा रिफ्रेसमेन्ट सेन्टर निर्माणलाई निरन्तता दिने योजना पनि सरकारको छ । वीर शहिद नमूना गाउँ बनाउने कार्यक्रमहरू स्थानीय पालिकाहरूमार्फत सञ्चालन गराउने योजना सरकारको छ । प्रदेश १ सरकारले युवाहरूलाई आवश्यक कृषि सीप तालिम प्रदान गर्ने घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५