खबर पूर्वाञ्चल
संसदको शिक्षा तथा स्वास्थ्य समितिमा आज भएको छलफलमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सबै जिल्ला उत्तिकै जोखिममा रहेका कारण धेरै सावधानी अपनाउन जरुरी रहेको बताउनुभयो । १५ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिमा बढी संक्रमण देखिएको भन्दै उनले जटिल स्वास्थ्य समस्या भएकाहरु भने नभेटिएको जानकारी दिए ।
हाल देशका नौओटा अस्पतालहरुबाट संक्रमितहरुको उपचार भइरहेको र भारतलगायत विभिन्न पाँच देशबाट संक्रमितहरु नेपाल आएको उनले जानकारी दिए । डा.देवकोटाले प्रतिदिन १८ स्थानबाट तीन हजार व्यक्तिको परीक्षण गर्न सकिने क्षमता रहेको पनि बताए । छलफलमा सांसदहरुले पीसीआर परीक्षणको दायरा फराकिलो बनाउन सुझाव दिएका थिए । उनीहरुले जनघनत्व बढी रहेको स्थानमा परीक्षण बढाउनुपर्ने र एक जिल्लाबाट अर्को जिल्लामा प्रवेशलाई कडाइ गर्नुपर्ने बताएका थिए ।