विराटनगर / प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले शिक्षालाई प्रविधिसँग जोड्नुपर्नेमा जोड दिएका छन् । प्रविधि विनाको ज्ञान उपयोग हुन नसक्ने भएकाले यसको प्रयोगमा उनले जोड दिएका हुन् ।
सामाजिक विकास मन्त्रालयद्धारा सञ्चालित भर्चुअल अनलाईन तालिममा बोल्दै मन्त्री घिमिरेले प्रविधिका माध्यमबाट जिविकाको साधन खोजी गरिनुपर्ने बताए । जनशक्तिको उत्पादन विना प्रविधिको गीत गाउन नसकीने उनले बताए । उनले भने,‘ जनशक्ति उत्पादनको केन्द्र शिक्षालय हो ।’ शिक्षकहरु दक्ष भएमात्र जनशक्ति उत्पादन गर्न सकिने भएकाले शिक्षकमा इ—लर्निङको ज्ञान हुनुपर्ने मन्त्री घिमिरेले बताए ।
शिक्षकलाई दक्ष बनाउनुपर्छ भन्ने सोचका आधारमा मन्त्रालयले पहिलो क्रियाकलाप शिक्षक केन्द्रित गरेको उनले बताए ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशव्यापी लकडाउन गर्नुअघि देखि नै इ—लर्निङ काम शुरु गरिसकेको मन्त्री घिमिरेले बताए । प्रदेश १ लाई १० वर्षभित्रमा झोला र किताव विस्थापीत गर्ने घोषणा अनुसार मन्त्रालयले काम गरिरहेको उनले बताए ।
प्रदेश १ मा १ सय विद्यालयका १ सय फोकल शिक्षकलाई केन्द्रित गरेर इ—लर्निङ काम शुरु गरेपछि यसको माग बढ्दै गएको मन्त्री घिमिरेले बताए । उनले प्रविधितर्फ अहिले आकर्षण बढेको बताए । मन्त्री घिमिरेले भने,‘ भविष्यको गन्तव्य प्रविधिबाट तय हुन्छ भन्ने निश्कर्षमा हामी पुगेका छौं ।’ नयाँ सिकाईको खोजीमा रहेको र थालनी भएको उनले बताए ।
तपाईको प्रतिक्रिया