राजपा र समाजवादीबीच एकता हुँदै गर्दा मध्यरातमा रेणु यादवले फुटाइन समाजवादी

खबर पूर्वाञ्चल, ११ बैशाख २०७७, बिहीबार ०७:०१

काठमाडौं / बुधबारको मध्यराती नेपालका मधेसवादी दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भएको छ ।

नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने छ भने झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ । चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुनेछ ।

राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा बुधबार साँझ भएको वार्तामा भएको सहमतिमा दुवै पार्टीका चार–चार जना नेताले हस्ताक्षर गरेका छन् । महन्थ ठाकुरलाई पहिलो नम्बरको बरियतामा राखिएको छ । राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा दुवै पार्टीका शीर्ष नेताहरुबीच एकता वार्ता भएको थियो ।

पार्टी एकताको सहमती पत्रमा समाजवादीबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले तथा राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारीले हस्ताक्षर गरेका छन् ।

दुवै पार्टी एकता भएको घोषणा हुँदै गर्दा समाजवादीकै उपाध्यक्ष एवम् सांसद रेणु यादवले भने आफ्नै नेतृत्वमा ७ सांसदको समर्थनसहित समाजवादी पार्टी फुटाएकी छिन् । सरकारले ल्याएको नयाँ अध्यादेशका कारण समाजवादी पार्टी फुट्ने अनुमान भइरहेका बेला दुई पार्टीले बुधबार एकता गरेका हुन् ।

यादवसहित सांसद महम्मद इस्तियाक राई, प्रदिप यादव, उमाशंकर अरगरीया, कलुदेवी विश्वकर्मा र सुरेन्द्र यादव र रेणुका गुरुङको हस्ताक्षरमा यादवले समाजवादी नेपाललाई फुटाएकी हुन् ।
रेणु यादवले भने शान्तिनगरस्थित निबासमा अलग्गै भेला बोलाएर समाजवादी पार्टी फुटाएर नयाँ पार्टी गठनको घोषणा गरेकी छन् । असन्तुष्टहरुको भेलाले बिहीबार नै नयाँ पार्टी गठन गर्ने निर्णय तयारी गरेको जनाइएको छ ।

समाजवादीबाट प्रतिनिधीसभामा १७ सांसद छन् । जसमध्ये १ जना निलम्बित छन् । बाँकी रहेका मध्ये रेणु यादवले सात सांसद लिएर पार्टी फुटाएकी हुन् । उनको दल दुई पार्टी मिलेर बनेको ‘जनता समाजवादी’ भन्दा पहिले निर्वाचन आयोगमा दर्ता भएमात्रै दलको आधिकारिकता पाउनेछ । समाजवादी पार्टी स्रोतका अनुसार असन्तुष्ट पक्षले भोलि (बिहीबार) नै नयाँ पार्टी गठन गर्ने निर्णय गरेका छन्।

पार्टी विभाजनकै लागि भनेर महोत्तरीमा रहेका सांसद सुरेन्द्र यादव सरकारी सहयोगमा सडकमार्ग हुँदै अहिले काठमाडौं पुगेका छन् । बुधबार दिउँसो यादव जनकपुरबाट एक्कासि सम्पर्क बिहीन भएपछि समाजवादी पार्टीले उनलाई सरकारको निर्देशनमा प्रहरीले अपहरण गरेको आरोप लगाएको थियो । उनलाई प्रहरीले गाडीमा राखेर लगेको आफूहरूले देखेको समाजवादीका स्थानीय कार्यकर्ताले दावी गरेका थिए । उनलाई प्रहरीले अपहरण गरेको नभई पार्टी विभाजनमा सहभागी हुन काठमाडौं आउन सरकारको निर्देशनमा सहयोग गरेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५