विराटनगर / तीव्रगतिमा कोरोना फैलिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ वैशाख अर्थात मे ३ तारिखसम्मलाई लकडाउन लम्ब्याइएका छन् ।
आज बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय नरेन्द्र मोदीले २१ दिनदेखि जारी लकडाउन १९ दिन लम्ब्याउने घोषणा गरेका हुन् ।
सबै क्षेत्रबाट लकडाउन लम्ब्याउनेबारे सुझाव आएकाले यस्तो निर्णय गरिएको मोदीको भनाइ छ । यसअघि घोषणा गरिएको लकडाउन आज राती १२ बजे सकिँदैछ । कोभिड–१९ को संक्रमण देखिएयता प्रधानमन्त्री मोदीको राष्ट्रका नाममा यो चौथो सम्बोधन हो ।
‘लकडाउनका कारण भारत अहिलेसम्म कोरोनाबाट हुने क्षतिलाई टार्न सफल भएको छ,’ उनले भने, ‘मलाई थाहा छ कि तपाईंहरुलाई अप्ठ्यारो भएको छ । कसैलाई खाने त कसैलाई आउजाउ गर्ने समस्या छ । तर तपाईहरुले अनुशासित सिपाहीले जसरी देशको कर्तव्य निभाइरहनु भएको छ ।’
सामाजिक दुरी र लकडाउनले निकै लाभ मिलेको उनले बताएका छन् । मोदीले भने, ‘आर्थिक दृष्टिकोणमा निकै महंगो छ तर भारतबासीको जीवनका अगाडि यो ठूलो होइन ।’
कोरोनालाई नयाँ क्षेत्रमा फैलिन नदिने भन्दै उनले हटस्पट पहिचान गरेर सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन । ‘जुन क्षेत्र हटस्पट बन्ने आशंका छ, त्यहाँ कठोर कदम चाल्नुपर्छ । आगामी एक साता लकडाउनमा कठोरता अझ बढ्नोछ । जुन क्षेत्रमा आशंका कम हुन्छ, त्यो क्षेत्रहरुमा ३० अप्रिलपछि शर्तसहित केही छुट दिइनेछ ।’
भारतमा हालसम्म करिब साढे १० हजारमा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने साढे ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।
भारतमा हालसम्म कोभिड–१९ संक्रमणका कारण ३ सय ५८ को ज्यान गइसकेको छ भने १० हजार ५ सय ४१ जना संक्रमित पुष्टि भएका छन् । भारतले देशमा ५५० जनामा संक्रमण देखिएपछि २१ दिनको लकडाउन गर्ने घोषणा गरेको थियो ।
तपाईको प्रतिक्रिया