पूर्वाञ्चल खबर
विराटनगर ६ मा रहेको जोनसन जल उद्योगले उत्पादन गर्ने गरेको धवन्तरी नीर पिउने पानीको जारमा मच्छर भेटिएकोले उक्त जारसहित अनुगमन टोली लिएर उपमेयर कार्की अचानक आज पानी उद्योग पुगीन् । उपमेयर कार्कीले तोकिएको मापदण्ड अनुसार उद्योग सञ्चालनमा नरहेको पाईन् । उद्योगको शौचालयदेखि मुस्किलले आधा फिटको दूरीमा पानी टंकी र फिल्टर सिलिन्डर जडान गरिएको, उध्योगले भने जस्तो रिभर्स ओसमोसिस्, अल्ट्रा भोइलेट र ओजोनेटेड प्रकृया पुरा नगरेको भेटियो ।
मोटरबाट तानिएको पानी कुद्ने पाईपमा धुलो फोहर जमेको पाइयो । प्रसोधित भनिएको पानी सावधानी नअपनाई नलबाट जारमा भरिने गरेको अनुगमन टोलीले भेटाएको थियो । पानी भरिएका कतिपय जारहरु फोहर र कामै नलाग्ने गरी कुच्चिएका थिए । खाध्य अनुसन्धान शाखाका धिरज राईले कम्पनी नविकरणनै नगरी सञ्चालन गरेको बताए ।
उपमेयर कार्कीले संवेदनहिनतालाई कुनैपनि बाहनामा छुट नदिने बताईन् । उनले उद्योगबाट एक जार पानी ल्याब टेष्टका लागि नियन्त्रणमा लिइएको बताउँदै मापदण्ड बमोजिमको पानी उत्पादन गर्न उध्योगलाई सचेत गराएको बताईन् । उपमेयर कार्कीले उद्योग नसच्चिए हदैसम्मको कारवाही गर्न आफू बाध्य हुने बताएकी छिन् । उद्योग रंजित साहको नाममा दर्ता भएपनि साहका धर्मपत्नी संगीता साह र सालो प्रेमअभिषेक महतोले सञ्चालन गरिरहेको पाइएको छ ।