खबर पूर्वाञ्चल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको पुष्टि गरेको हो ।
उनी चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएकी थिइन् ।
मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बाग्लुङ नगरपालिका ३ गौडाकोटकी ६५ वर्षकी वृद्धामा कोरोना संक्रमण भेटिएको बताए । उनी सवार जहाजमा आउने बाग्लुङकै अर्की युवतीमा पनि संक्रमण पुष्टि भएपछि उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
बेल्जियमबाट कतारको दोवा हुँदै कतार एअरवेजको विमानबाट आउने यसअघि पाँचौ संक्रमित युवती पनि बाग्लुङ नगरपालिका ३ कै बासिन्दा हुन् । दुवैजना एकैसाथ बेल्जियमबाट आएको पाइएको छ ।
उनीहरू काठमाडौं ओर्लिएपछि यति एअरलाइन्सको विमान चढेर पोखरा विमानस्थल ओर्लिएका थिए। संक्रमणको पुष्टि भएकी १९ वर्षीया युवतीको अहिले धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
फ्रान्स हुँदै दोहाबाट काठमाडौं आएकी १९ वर्षीया युवतीमा चैत १० गते कोरोना देखिएपछि सरकारले मुलुकभर लकडाउन घोषणा गरेको थियो । त्यसपछि बेल्जियबाट दोहा हुँदै सोही विमानमा काठमाडौं आएकी बागलुङकै २२ वर्षीया युवतीमा चैत १६ गते कोरोना पोजेटिभ रहेको पुष्टि भएको थियो । अहिले सोही विमानमा यात्रा गरेकी महिलामा पनि कोरोना देखिएको हो ।
उक्त विमानमा १ सय ५८ जना यात्रु थिए। तीमध्ये अहिलेसम्म १ सय ४० जनाको मात्र ट्र्या्किङ भएको छ ।