धरान / काठमाडौंको टेकुमा मात्रै परीक्षण हुदै आएको कोरोना भाइरस (कोभिड १९) को ल्याव परीक्षण आजदेखि सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट धरानको वीपी कोइराला मेमोरियल अस्पतालमा कोरोना परीक्षण शुरु हुने जानकारी दिए पनि प्रतिष्ठानले आइतबारबाट परीक्षण सुरु हुने जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले परीक्षणका लागि आवश्यक सबै तयारी सम्पन्न भएकोले आजैबाट परीक्षण सुरु हुने बताएका थिए । प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डा.संजिवकुमार शर्माले परीक्षणको तयारी पुरा भएको र आइतबारबाट नमुना परीक्षण सुरु हुने जानकारी दिए ।
प्रतिष्ठानमा प्रदेश १ र २ लाई लक्षित गरेर कोरोना भाइरसको आशंका गरिएका विरामीको स्वाब परीक्षण गर्न प्रयोगशाला स्थापना गरिएको छ । सुरूवातमा दैनिक १२ जनाको स्वाब परिक्षण गर्ने गरी स्थापना भएको ल्याबको क्षमता अधिकतम् उपयोग गर्दा ३० वटासम्म परीक्षण गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।
ल्याबका लागि तत्काल आवश्यक पर्ने जनशक्ति प्रतिष्ठानमै रहेको छ । स्थापित प्रयोगशालाको परीक्षण पुष्टि गर्न सुरुवातमा पुनःपरीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउने तयारी छ। केही परीक्षणहरू पठाएपछि त्यसमा समानता आएमा यहीँको परीक्षणले मान्यता पाउनेछ ।
धरानबाटै कोरोनाको परीक्षण गर्न प्रदेश सरकारले पनि पहल गर्दैै आएको थियो । प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेको पहलमा परीक्षणको लागि आवश्यक केही सामान भारतबाट ल्याइएको थियो । सरकारले परीक्षण किट पठाएकोले अब परीक्षण हुने भएको हो ।
शनिबार मात्रै थप एक जना कोरोना संक्रमित युवती भेटिएकी छिन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।
तीमध्ये १ जना उपचारपछि घर फर्किसकेका छन् भने बाँकी उपचाररत रहेका छन् । स्वास्थ्य मन्त्रालयले घरभित्रै बसेर यो रोगको च्यानल ब्रेक गर्न सकिने भन्दै सवैलाई सर्तह रहन आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया