विराटनगर /विराटनगरमा जारी २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगितामा कान्तिपुर र महेन्द्र मेमोरियल कलेजले सफलता हात पारेका छन् ।
विराट बुद्ध स्पोर्ट्स क्लबले विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा विराटनगरको कान्तिपुरले विराटनगरकै कोशी मल्टिपल कलेजलाई पराजित गरेको छ भने दुहबीको महेन्द्र मेमोरियल एकेडेमीले रंगेलीको जनप्रिय माविलाई पराजित गरेको छ ।
प्रतियोगिताको पहिलो खेलमा कान्तिपुर कलेजले कोशी कलेजलाई २–० गोलअन्तरमा पराजित गरेको छ । ३३ औं मिनेटमा कान्तिपुरका विमल राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३७ औं मिनेट श्यामु मुर्मुले टोलीका लागि थप गोल गरे । खेलको म्यान अफ द म्याच कान्तिरपुरका श्याम मुर्मु भए । उनले नगद ३ हजार १ सय रुपैयाँ प्राप्त गरे ।
त्यस्तै दोस्रो खेलमा महेन्द्र मेमोरियलले जनप्रिय माविलाई ३–० गोलमा पराजित गरेको छ । खेलको २९ औं र ४६ औं मिनेटमा महेन्द्र मेमोरियलका सुजन राईले गोल गरे भने ५४ औं मिनेटमा सन्देश श्रेष्ठ गोल थपेका थिए । खेलको म्यान अफ द म्याच महेन्द्र मेमोरियलका सुजन राई भए । उनले नगद ३ हजार १ सय रुपैयाँ प्राप्त गरे ।
शुक्रबारको पहिलो खेल विराटनगरका हिमालय दर्शन र निहारिका कलेज तथा दोस्रो खेल पथरीको रेडस्टार र विराटनगरको ग्रिनल्याण्ड कलेजबीच प्रतिस्पर्धा हुनेछ । ग्रामथानको बुद्ध इंग्लिस बोर्डिङ स्कुलले प्रतियोगितामा भाग लिने सहमति गरे पनि अन्तिम समयमा आए विना कारण भाग नलिने बताएको आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया