जंगली हात्तीले गर्यो दाना लाग्न लागेको मकै नष्ट

खबर पूर्वाञ्चल, २५ फाल्गुन २०७६, आईतवार १८:५१

विर्तामोड / भारतसँग जोडिएको दक्षिणी झापाको कचनकवल गाउँपालिकामा जंगली हात्तीले दाना लाग्न लागेको मकैबारी नष्ट गरेको छ ।

हात्ती आतंक रोक्न सरकारले सौर्य विद्युतीय तारबार जडान गरेको भएपनि साविक घेरावारी गाविस २ हाल कचनकवल १ मा करिब १० विगहामा किसानले लगाएको मकै हात्तीले नष्ट गरेको हो ।

तीन रात जंगलबाट आहारको खोजीमा निस्किएको हात्तीले स्थानीय धनिलाल यादव, नारायणसिंह राजवंशी, अचालु यादव, देवलाल यादव र वासुदेव राजवंशीको मकै खेती नष्ट गरिदिएको हो । हात्तीले करिब ५ लाख रुपैयाँभन्दा बढीको खेती नष्ट गरिदिएको स्थानीय कृषकले पीडा पोखेका छन् ।

बिहीबार रातिबाट गाउँ पसेको हात्तीको समूहले मकैखेतीमा उपद्रो मच्चाएको हो । धान बेचेर र साहूबाट ऋण लिएर ६ विघामा मकै खेती लगाएकोमा हात्तीले नष्ट गरेको किसानहरुले बताएका छन् ।

हात्तीले दान निस्किसकेको पूरै मकैखेती नष्ट गरिदिएको कृषक नारायणसिंह राजवंशीले बताए । गाउँमा दिनहुँ जसो हात्तीले क्षति पु¥याउँदै आएपनि संघीय, प्रदेश तथा स्थानीय सरकारका जनप्रतिनिधि आएर नहेरेको स्थानीयको गुनासो छ ।

हात्तीले गरेको क्षतिको विवरण संकलन गरेर राज्यले पीडामा रहेका कृषकलाई तत्काल क्षतिपूर्ति दिलाउनु पर्ने स्थानीयले माग गरेका छन् । कचनकवलको दुर्गाभिट्टा सामुदायिक वनदेखि जलथल हुँदै भद्रपुरको विशाल सामुदायिक वनसम्मको ३७ किलोमिटरसम्म हात्ती नियन्त्रणका लागि तारबार लगाइएको छ । तर, पनि हात्तीको आतंक रोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५