भारतमा दिल्लीमा झडप हुँदा १३ जनाको मृत्यु,

खबर पूर्वाञ्चल, १४ फाल्गुन २०७६, बुधबार ०८:४१

दिल्ली /भारतको राजधानी नयाँदिल्लीको उत्तरपूर्वी क्षेत्रमा तीन दिनअघि विवादास्पद नागरिकता विधेयकको विरोधमा भड्किएको हिंसका कारण १३ जनाको ज्यान गएको छ भने डेढ सयभन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

संशोधित नागरिकता ऐनविरुद्ध स–साना झडपका बीच आइतबार प्रदर्शन सुरु भएको थियो । यसले सोमबार कतिपय स्थानमा साम्प्रदायिक (हिन्दु–मुस्लिम) रूप लियो । यस क्रममा जीउधनको क्षति भएको छ । मंगलबार दिल्लीको उत्तरपूर्वी क्षेत्र थप तनावपूर्ण बनेको थियो । प्रदर्शनकारी बिहानैदेखि सडकमा आएका थिए । दुवै पक्षबीच ढुंगा हानाहान चल्यो । घर, पसल तथा सवारीसाधनमा आगजनी गरिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र गोलीसमेत प्रहार गर्यो ।

नरेन्द्र मोदी सरकारले तीन महिनाअघि नागरिकता ऐनमा संशोधन गरेपछि त्यसको विरोधमा भारतभर प्रदर्शन हुँदै आएको छ । दिल्लीको साहिन वागमा दुई महिनादेखि प्रदर्शन भएको थियो । उक्त प्रदर्शनप्रति भारतीय जनता पार्टीका कार्यकर्ता सुरुदेखि नै असन्तुष्ट थिए । उनीहरूले सार्वजनिक रूपमै आक्रोश व्यक्त गर्दै आएका छन्न् । त्यस्तो अभिव्यक्ति दिनेमा भाजपाका नेता मिश्र सबैभन्दा अगाडि थिए । भाजपाले भने हिंसाका लागि नागरिकता ऐनको विरोध गरिरहेकाहरू नै जिम्मेवार रहेको आरोप लगाएको छ ।

विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र भएको मुलुक भारतको राजधानीमा यस किसिमको हिंसात्मक प्रदर्शन हुनु चिन्ताजनक भएको एकथरी विश्लेषकको बुझाइ छ । कतिपय विश्लेषकले भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा रहेकै बेला राजधानी दिल्लीमा साम्प्रदायिक घटना हुँदा भारतको अन्तराष्ट्रिय छविमा ठूलो धक्का पुगेको बताएका छन् ।

दिल्लीमा हिंसा भड्किएपछि छिमेकी राज्यहरू उत्तर प्रदेश र हरियाणासँगको सिमानामा निगरानी बढाइएको छ । गृह मन्त्रालयमा भएको बैठकपछि भारतका केन्द्रीय गृह मन्त्री अमित शाहले शान्तिको अपिल गर्दै हिंसा बढ्न नदिन सीमा नाकामा कडाइ गरिएको जानकारी दिए । यस्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा भड्किएको हिंसा रोक्न थप सुरक्षा बल आवश्यक रहेको बताएका छन् । एजेन्सी 

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५