सेटिङमै ढुंगागिटी तस्करी भइरहेको घिमिरेको आरोप

खबर पूर्वाञ्चल, १४ फाल्गुन २०७६, बुधबार ०८:२१

विराटनगर / उत्तरी मोरङको चुरे क्षेत्रबाट ढुंगागिटीको अवैध चोरी तस्करी भइरहेको र त्यसमा प्रहरीकै मिलेमतो रहेको भन्दै प्रदेशसभा बैठकमा सरकारमाथि प्रश्न उठेको समाचार आजको हाम्रोमत दैनिकले छापेको छ ।

प्रदेशसभा सदस्य उपेन्द्र घिमिरेले ढुंगागिटीको अवैध चोरी तस्करीमा प्रहरीको सेटिङ रहेको आरोप लगाएका हुन् ।

आइतबार बसेको प्रदेशसभा बैठकको शुन्य समयमा घिमिरेले ढुंगागिटी तथा वनस्रोतको व्यापक दुरुपयोग भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

‘उत्तरी मोरङको चुरे क्षेत्रबाट ढुंगागिटी तस्करी भइरहेको छ र त्यसमा प्रहरीसँग सेटिङ् छ तर म यो विषयमा आज बोल्दिन,’ उनले भने ‘वैज्ञानिक वन व्यवस्थापनको नाममा जङ्गल विनास भएको छ त्यस विषयमा पनि म आज बोल्दिन ।’ उनले किसानलाई दिने कृषि अनुदानमा पनि व्यापक दुरुपयोग भएको र सेटिङ मिलाएर अनुदान बाड्ने गरेको आरोप लगाउँदै सरकारको ध्यानाकर्षण गराए ।

प्रदेशसभा सदस्य घिमिरेले उत्तरी मोरङमा असुरक्षाको अवस्था रहेको र सरकारले सुरक्षा प्रत्याभूतिका लागि गम्भीर नभएको भन्दै आलोचना गर्नुभएको छ । स्थानीय तहको वडा कार्यालयमा बम विष्फोट हुँदा जनताको काम प्रभावित बनेको उनले बताए । घिमिरेले विकास निर्माणमा प्रयोग भएको स्काभेटरमा आगजनी गराउने, रिपिटर टावरमा विष्फोट गराउने जस्ता घटनाले सुरक्षा अवस्था कमजोर बनेको बताए ।

मोरङको उत्तरी पहाडी चार वटा पूर्व गाउँपालिकामा सञ्चार विच्छेद भएको भन्दै सरकारको घिमिरेले ध्नाकर्षण गराए । केराबारी २ स्थित सिंहदेवी र लेटाङ ७ स्थित वारंगीमा रहेको एनसेलको टावरमा अज्ञात समूहले बिष्फोट र आगजनी गरेपछि एक महिनादेखि वारंगी, भोगटेनी, पाटीगाउँ र सिंहदेवीका अधिकांश क्षेत्र सञ्चारबाट टुटेको उनको भनाइ छ ।

किसानचोक टाँडी रमिते खोला जोड्ने बहुवर्षीय सडक ठेक्का लागेपछि द्रुतगतिका साथ काम सुरु भएकोमा अहिले अवरुद्ध भएको घिमिरेले बताए । सडक निर्माणमा प्रयोग भएको तीन वटा स्काभेटरमा आगजनी भएपछि सडक निर्माणको काम प्रभावित भएको उनले बताए ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५