CLASSICTECH NET

शान्ती वनका सञ्चालक दिलिप अधिकारी माथि ठगीको आरोप, उनले दिएको चेक बाउन्स

खबर पूर्वाञ्चल, २९ पुष २०७६, मंगलवार २२:००

विराटनगर / सुनसरीको बर्जु गाउँपालिका – ५ मा रहेको एभरेष्ट साइन्स सेन्टरका सञ्चालक तथा बैज्ञानिकको रुपले चिनिने दिलिप अधिकारी माथि ठगीको आरोप लागेको छ ।
आज विराटनगरमा पत्रकार सम्मेलन गरेर विराटनगरका अग्रज पत्रकार तथा नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष शिवबहादुर कार्कीले बैज्ञानिक अधिकारीबाट ठगिएको गुनासो गरेका हुन् ।

दिलिप अधिकारीले दिएको बाउन्स चेक

अधिकारीले २०६१ कार्तिकमा कार्कीसंग २७ लाख १५ हजार रुपैयाँ सापटी लिएका थिए । एभरेष्ट साइन्स सेन्टर स्थापनाका लागि अधिकारीले आफुसंग सहयोगको याचना गरेपछि चिनजानको भएकोले घर जग्गा बैंकमा धितो राखेर पैसा सापटी दिएको कार्कीले बताए । अधिकारीले आफु अमेरिकाको नासामा काम गरेर आएको र आफ्नै ठाउँमा केहि गर्ने चाहना रहेको बताएपछि आफ्नो घर धितो राखेर अधिकारीलाई ऋण दिएको कार्कीको भनाई छ ।

कार्कीले ३१ धुर जग्गामा बनेको आफ्नो १६ कोठे घर तत्कालिन सिएसआइटी हाल महालक्ष्मी विकास बैंकमा धितो राखेर दिलिपलाई कर्जा उपलब्ध गराइ दिएका थिए ।

यसबिचमा आफुले पटक पटक अधिकारीसंग उक्त रकम माग गर्दा दिने आश्वासन मात्रै दिएको कार्कीले गुनासो गरे । अधिकारीले बैंकको उक्त ऋण नतिरेपछि आफ्नो घर लिलाम हुने चरणमा पुगेपछि आफैंले १ करोड तीन लाख रुपैयाँ तिरेर घरजग्गा उकासेको पीडित शिवकुमार कार्कीका छोरा सुभाषले बताए । आफ्ना भएका केहि घडेरी र विभिन्न बैंक तथा साथीभाइसंग ऋण लिएर आफुले उक्त घरजग्गा लिलाम हुनबाट बचाएको उनले बताए । १६ वर्ष लागिसक्दा समेत अधिकारीले लिएको सापटी वापतको ८६ लाख २ सय १० रुपैयाँ हालसम्म फिर्ता नगरेको कार्कीले बताए । उक्त रकम फिर्ता नगरेको र सम्पर्क विहिन भएकाले नेपाल पत्रकार महासंघ मोरङले अन्य विभिन्न अगुवाहरुको सहयोगमा उक्त समस्या समाधानकालागि पहल समेत गरेको थियो ।

ब्याज सहित अधिकारीले एक करोड बढी रकम तिर्नु पर्ने भएपनि महासंघको पहलमा भएको विभिन्न चरणको छलफलमा उनले ९१ लाख रुपैयाँ तिर्ने सहितको कागज गरेको पिडित सुभाष कार्कीले बताए ।

पत्रकार महासंघको पहलमा बैशाखमा बसेको छलफलमा उनले ९१ लाख रुपैयाँ तिर्ने सहमति गरेका थिए । गत जेठ ४ गतेको अर्काे छलफलमा उनले असोज ३० गतेको मिति राखेर ४४ लाख ९० हजार र मंसीर ३० गतेको मिति राखेर ४१ लाख १० हजारको चेक कार्कीलाई दिएका थिए । एभरेष्ट बैंक लिमिटेडमा रहेको उनको खातामा रकम नै नभएपछि उक्त चेक बाउन्स भएको कार्कीले बताए ।

चेक बाउन्स भएपनि अधिकारीले पुस मसान्तसम्ममा रकम फिर्ता गर्ने आश्वासन दिएको भएपनि हालसम्म नदिएको कार्कीले बताए । आफुले पनि विभिन्न व्यक्ति र बैंकबाट ऋण लिएर आफ्नो घरजग्गा उकासेको र उक्त ऋण बापतको ब्याजको मात्रै भए पनि रकम तत्कालका लागि दिन आफुले पटक– पटक अधिकारीलाई अनुरोध गरेको कार्कीले बताए । ‘विभिन्न चरणको वार्तापछि त्यो चेक हात लागेको थियो,’ कार्कीले भने, ‘चेक पाएपछि बल्ल आ“फु ऋणमुक्त हुने आशा पलाएको थियो । तर अधिकारीले दिएको चेकको खातामा पैसा नै छैन रहेछ । त्यो चेक बाउन्स भयो ।’

यसबिचमा अधिकारीले विभिन्न चरणमा गरेर पाँच लाख रुपैयाँ तिरेको भएपनि अझै ८६ लाख २ सय १० रुपैयाँ तिर्न बाकी रहेको कार्कीले बताए । उनले दिएको चेक समेत बाउन्स भएको र राखेको भाकामा रकम फिर्ता नगरेकाले अब आँफु कानुनी उपचारमा जाने उनले बताए ।

यता अधिकारी आफूले लिएको सापटी पैसा तिर्ने बताए । उनले तिर्नुपर्ने रकम हिसाब गरेर चेकका रूपमा दिएको पनि स्वीकार गर्छन् । ‘मैले आफूले तिर्नुपर्ने रकमको हिसाब चेकका रुपमा दिएको हो,’ उनले भने, ‘केही पैसाँ दिएको पनि छु । बाँकी पैसाँ पनि तिर्दै जानेछु ।’

तपाईको प्रतिक्रिया

*

BRIGHTFUTURE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५