पूर्वाञ्चल खबर
झापा/ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले लिएको समृद्धिको लक्ष्य निजी क्षेत्रको सहकार्य विना सम्भव नभएको बताएका छन् ।
झापाको मेचीनगर धुलाबारीमा आयोजित तेस्रो अन्तराष्ट्रिय औद्योगिक व्यापार, पर्यटन तथा कृषि महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकार निजी क्षेत्रलाई सँगै लिएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । प्रदेश १ सरकारले प्रदेशको कृषि, पर्यटन तथा उद्योग व्यवसाय क्षेत्रको विकासका लागि थुप्रै कार्यक्रम ल्याएको मुख्यमन्त्री राईले बताए ।
मेचीनगरको धुलाबारीमा आजदेखि सुरू भएको तेस्रो अन्तराष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सवमा २ सय भन्दा बढी स्टलहरु राखिएका छन् । भ्रमण वर्ष २०२० लाई लक्षित गरि आयोजना गरिएको महोत्सवमा नेपाललगायत भारतका दार्जिलिङ, आसाम तथा पश्चिम बंगाल, बंगलादेश तथा भुटानबाट व्यवासायी तथा पर्यटकहरुले महोत्सव अवलोकन गर्ने आयोजक मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिनाले बताए ।