पूर्वाञ्चल खबर
उर्लाबारी / विकास र समृद्धिमा सरकार संवेदनशील रहेको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) ले बताएका छन् ।
आज मोरङको उर्लाबारी–टाँडी–रमिते सडक कालोपत्रे शिलान्यास गर्दै मन्त्री आङ्बोले सरकारले तीब्र गतिमा विकास र समृद्धिको काम अघि बढाइरहेको बताए ।
प्रदेश सरकारले पहिलो वर्षलाई आधार वर्ष रुपमा लिएको बताउँदै मन्त्री आङ्बोले यो वर्ष कामको शिलान्यास वर्ष हुने र अर्को वर्षदेखि जनताले देख्ने गरी विकास निर्माणको काम उद्घाटन गर्ने दावी गरे । संघीयता र संविधानलाई कार्यान्वय गर्दै विकास निर्माणका कामलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढिरहेको उनले उल्लेख गरे ।
विकासको योजनामा रकम निकासमा ढिलाई नगर्ने प्रतिबद्धता जाहेर गर्दै मन्त्री आङ्बोले समयमै काम सम्पन्न गर्न ठेकेदार पक्षलाई निर्देशन दिए । निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताउँदै उहाँले विगतमा गलत अर्थनीतिका कारण राज्यबाट सेवा प्रवाह गर्ने संरचना धरासायी बनेको बताए । प्रदेश सरकारले कृषि, पर्यटन, विकास निर्माणलगायतका कार्यमा तीब्र गतिमा काम अघि बढाइरहेको बताउँदै मन्त्री आङ्बोले उर्लाबारी–मधुमल्ला हुँदै रबी जोड्ने सडक कालोपत्रे तथा स्तररोन्तीका लागि प्रदेश सरकारले गुरुयोजना बनाइसकेको जानकारी दिए ।
कार्यक्रममा मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले सडक कालोपत्रे पश्चात मिक्लाजुङको मुहार फेरिने आशा ब्यक्त गरे । वर्षौदेखि सास्ती खेप्दै आएका टाँडी र रमितेका जनतालाई सडक कालोपत्रे बरदान सावित बन्ने बताउँदै सांसद लिम्बूले कालोपत्रे निर्माणको क्रममा कसैबाट अवरोध सिर्जना नगर्न अपिल गरे ।
ठेकेदार कम्पनी शर्मा–भिमेश्वर जेभी भक्तपुरले ५८ करोड ५६ लाख ६८ हजार १ सय ७७ रुपैयाँमा सडक कालोपत्रे गर्ने ठेक्का लिएको हो । २०७८ असोज २६ गतेभित्र साढे १८ किलोमिटर सडक रमितेको आइतबारेसम्म कालोपत्रे गर्ने सम्झौता गरेको कम्पनीले तोकिएको अबधिभन्दा अगाडि नै काम सक्ने जनाएको छ ।