AArya
RUMPUM
animated ellipse animated ellipse

सीता एयर र माउन्टेन हेलिकप्टरले १ मा रहेका प्रसिद्ध तीर्थस्थलमा चार्टर्ड गर्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ मंसिर २०७६, बुधबार २१:२९
9
Shares

विराटनगर / सीता एयर र माउन्टेन हेलिकप्टरले प्रदेश १ मा रहेका प्रसिद्ध तीर्थस्थलमा चार्टर्ड गर्ने भएको छ ।

विराटनगर र भद्रपुरमा रहेको विमानस्थलबाट पूर्वी पहाडका प्रसिद्ध तीर्थस्थल पाथीभरा र हलेसी महादेवको दर्शनमा चार्टर्ड प्याकेज ल्याएका हुन् ।

खोटाङ जिल्लामा रहेको हलेसी र ताप्लेजुङको पाथीभराका लागि यही मंसिर २९ गतेदेखि चार्टर्ड प्याकेज सुरू हुने सीता एअरका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए । सीता एअरका प्रबन्ध निर्देशक सिंहका अनुसार हलेसी महादेवका लागि सीता एअरको डोर्नियर जहाजमा भद्रपुर र विराटनगरबाट लामिडाँडा लगिने छ । यो उडान १९ देखि २० मिनटको हुनेछ । त्यसपछि माउन्टेन हेलिकप्टरबाट लामिडाँडादेखि हलेसी लगिनेछ । लामिडाँडाबाट हलेसीको उडान करिब हेलिकप्टरमा ५ देखि ६ मिनटको हुनेछ । त्यस्तै पाथीभरा देवीको दर्शनका लागि विराटनगर र भद्रपुर विमानस्थलबाट ताप्लेजुङको सुकेटार विमानस्थल लगिने छ र सुकेटारदेखि पाथीभरासम्म माउन्टेनको हेलिकप्टरमा पु¥याइने छ ।

विराटनगर र भद्रपुरदेखि सुकेटारसम्मको हवाइ यात्रा १९ देखि २० मिनेट र सुकेटारदेखि पाथीभरासम्मको ५ देखि ६ मिनटको हुनेछ ।

सीता एअरको डोर्नियर जहाजले पहिले १७ यात्रुलाई लामिडाँडा वा सुकेटार लैजानेछ । यसपछि माउन्टेनको हेलिकप्टरमा ५–५ जनाका दरले तीनपटक गरेर हलेसी वा पाथीभरा पुर्‍याउने छ ।

दुवै ठाउँबाट दुवै ठाउँको चार्टर्ड उडानका लागि टिकट दर प्रतिव्यक्ति २३ हजार रूपैयाँ निर्धारण गरिएको छ । नागरिक उड्डयन प्राधिकरणले सेड्युल फ्लाइट नभई कसैलाई पनि चार्टर्ड फ्लाइटको अनुमति नदिने भएकाले विराटनगर, भद्रपुरबाट लामिडाँडा र सुकेटार हप्तामा एक दिन उडान गर्ने तयारी गरिएको उनले बताए । टिकटहरू विराटनगर, इटहरी, धरान र झापा लगायतको स्थानको ट्राभल्समा पाइनेछ । उनका अनुसार चार्टर्ड उडानका सबै टिकट ट्राभल एजेन्सीले मात्र बिक्री गर्नेछन् । एअरलाइन्स वा हेलिकप्टर कम्पनीले सिधै टिकट बिक्री गर्ने छैन ।

सम्भाव्यता अध्ययनका लागि तीन महिनाका लागि चार्टर्ड उडान सुरू गरिएको प्रबन्ध निर्देशक सिंहले बताए । ‘यो प्याकेज सफल भएमा हामी यसलाई निरन्तरता दिने तयारीमा छौ,’ उनले भने, ‘यसले भिजिट नेपाल २०२० र पूर्वको पर्यटन दुवैलाई प्रबद्र्धन गर्नेमा हामीले विश्वास हामीले लिएका छौं ।’ चार्टर्ड फ्लाइटका लागि सीता एअरको एक जहाज र माउन्टेनको हेलिकप्टर विराटनगरमै रहने छन् ।

दुवै उडानमा भूटानसहित भारतको विहार, पश्चिम बंगाल, सिक्किम र मेघालयसम्मका दर्शनार्थी आउने विश्वास गरिएको उनले बताए । यसका लागि पर्यटन व्यवसायी भविश श्रेष्ठ नेतृत्वको विराटनगर होलिडेजसित मिलेर मार्केटिङ गरिएको सिंहको भनाई छ । ‘माग बढ्यो भने हामी जहाजको संख्यामा वृद्धि गर्दै लैजान्छौं,’ उनले भने, ‘जहाजमा कमी हुन दिने छैनौं ।’

प्रदेश १ को राजधानी विराटनगरबाट पूर्वका सबै पहाडी जिल्लामा रहेका विमानस्थलमा उडान गर्ने लक्ष्य रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर