पूर्वाञ्चल खबर
विराटनगर / प्रदेश १ सामाजिक विकास मन्त्रालयले स्थानीयतहसँग सहकार्य गरेर सिंघीया खोलाको संरक्षण र सरसफाई गर्ने भएको छ ।
‘सिंघीया खोलाको सफाई अभियान, हामी सबैको शान’भन्ने मूलनाराका साथ आगामी शनिबारबाट अभियानको आरम्भ गर्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि सिंघीया खोलाको संरक्षण र सरसफाइ अभियानको आरम्भ गरिने जानकारी गराएको छ ।
मन्त्रालयले विराटनगर महानगरपालिका, कटहरी, बूढीगंगा, ग्रामथान र जहदा गाउँपालिकासँग सहकार्य गर्दै खोला सफाईको अभियान चलाउने छ । विराटनगरको पुष्पलालचौक पूर्वको घिनाघाटदेखि खोला सफाई अभियान सुरु हुने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद अधिकारीका अनुसार सरकारी तथा गैरसरकारी संघ संस्था, निजी क्षेत्र, सुरक्षानिकाय, स्वास्थ्य क्षेत्र, सामाजिक अभियन्तालगायत सबै पक्ष एवं समुदायको सामूहिक सहभागितामा अभियानको थालनी गरिने छ ।
अभियान अघि बढाउन सामाजिक विकास मन्त्री जीवन घिमिरे संयोजक र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली सह–संयोजक रहेको मूल समिति बनाइएको छ । समितिमा विभिन्न स्थानीय तहका प्रमुख, विराटनगर–१, २, ७, ८, १४, १८ र १९, जहदा–१ र २, बूढीगंगा–१ तथा कटहरी –१, २, ३ का वडा अध्यक्ष, सरकारी कर्मचारी, सुरक्षा अधिकारीलगायत सरोकारवाला निकायका प्रतिनिधि छन् । साथै उक्तखोलाको सीमांकन तथा ऐलानी र पर्ति जग्गा पहिचानकालागि नापी कार्यालय मोरङका अधिकृतको संयोजकत्वमा पाँच स्थानीय तहका अमिनहरु सदस्य रहने ६ सदस्यीय सीमांकन एवं नाप जाँच समिति बनाइएको छ ।
सरसफाईका लागि मन्त्रालयले एक सय ७० जोर गमबुट, एक सयवटा डोको, एक हजार पाँच सयवटा माक्स, पाँच सयवटा डिस्पोजेवलपञ्जा, खानेपानी, माइकतथा स्पिकरको व्यवस्थागर्ने छ ।
महानगरपालिकाले सात सयवटा एप्रोन, एक सयवटा फोहोर तान्ने काँटा, २० वटा बेल्चा, २० वटा दविया, ५० वटा कचिया, २० वटा फोरुवा, २० वटा डस्बिन र २० पिस डोरी उपलब्ध गराउने छ । त्यस्तै संकलित फोहोर व्यवस्थापनका लागि फोहोर उठाउने र डम्पिङ साइडसम्म पुर्याउने सवारी साधनको व्यवस्था महानगरले गर्ने छ । कटहरी गाउँपालिकाले दुई सय जोर गमबुट, छ सय जोर पञ्जा, बूढीगंगाले ६५ जोर गम्बुट, जहदाले ५० वटा फोहोर तान्ने काँटा र ग्रामथानगाउँपालिकाले ६५ जोर फोहोर तान्ने काँटाको व्यवस्थापनगर्ने छन् ।
सफाईका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मेयर पराजुलीले सरससफाई महाअभियान सन्देश मुलक र जन चेतनामुलक हुने बताऐ । अल्पकालिन, मध्यमकालिन र दीर्घकालिन योजनासहितखोलो सफाई अभियान सुरु गर्न लागिएको जानकारी उनले बताए । संकलित फोहोर डम्पिङ साइडसम्म लगेर व्यवस्थापनगरिने मेयर पराजुलीले जानकारी दिए ।
मन्त्री घिमिरेले अत्यधिक प्रदूषण बढेपछि पहिलो चरणमा घिनाघाटदेखि भाथिगछ पुलसम्मको १० किलोमिटर क्षेत्र सफाई गरिने बताए । सफाईका हिसावमा प्रदेशमा जागरण ल्याउन लागिएको उनको भनाई छ । यसपछि पूर्वका सहरसँग जोडिएको र प्रदूषित बनेका खोलाहरु सफाई गर्ने मन्त्री घिमिरेले बताए।