पूर्वाञ्चल खबर
धरान / सुनसरीको धरान उपहानगरपालिका ७ को उपचुनावमा नेकपाका जीवन सुवेदी एक मतको अन्तरमा विजयी भएका छन् ।
नेकपा उम्मेदवार सुवेदीले ६२२ मत ल्याएर वडाध्यक्षमा जित्दा नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरे ।
त्यसअघि चुनाव जितेको भन्दै अबिरमालासमेत लगाइसकेका काँग्रेस उम्मेदवार पालिखेले भने पुनः मतगणनाको माग गरेका थिए । लगाएको माला फुकालेर अर्कोलाई बधाई दिनुपरेपछि उनी आक्रोशित भएका थिए । धरान उपहानगरपालिको मेयर र वडाध्यक्ष दुवैमा नेपाली कांग्रेसले जितेको भनेर विजय जुलुस हुँदै गर्दा वडाध्यक्षमा नेकपाका जीवन सुवेदीले १ मतले जितेको आधिकारिक घोषणापछि पालिख निरास भए ।
विजय उत्सव मनाइसकेपछि एक मतले हारेको जानकारी निर्वाचन आयोगले गराएपछि उनले अबिर पुछेर माला फुकालेका थिए ।
यसअघि बदर भनिएको मत पुनः जाँच गर्दा सदर भएपछि नेकपाका जीवन सुवेदी ६२२ मतले विजयी भएका हुन् । कांग्रेसले परिणाम अस्वीकार गर्दै पुनः मतगणनाको माग गरिरहेको छ ।
वडाध्यक्षमा निवाचित सुवेदी २०७४ को चुनावमा वडा सदस्य निर्वाचित भएका थिए । उनले २०५४ मै वडाध्यक्ष भइसकेका तत्कालीन एमालेका पुराना नेता हुन् । धरान ७ का वडाध्यक्ष भुवन मोक्तानको निधनपछि उपचुनाव भएको हो ।