पूर्वाञ्चल खबर
चितवन /नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियतालाई चुनावी एजेण्डा नबनाउन प्रतिपक्षी दललाई आग्रह गरेका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार पोखरामा आयोजित एक कार्यक्रममा भारतले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा नयाँ नक्सा जारी गरेको अभिव्यक्ति दिएपछि अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमै प्रतिवाद गरेका हुन् । आज चितवनको भरतपुर महानगरपालिका–१६ मा आयोजित उपनिर्वाचनको चुनावी सभामा उनले झुटा कुरा गरेर, भौगोलिक अखण्डता, राष्ट्रिय अखण्डता र एकता जस्ता कुरा चुनावी एजेण्डा नबनाउन आग्रह गरे ।
अध्यक्ष प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएकोमा कुनै द्विविधा नभएको भन्दै भारतसँग कुटनीति ढङ्गबाट वार्ता गरी जमिन फिर्ता गरिने आश्वासन दिए । मंसिर १४ गते उपनिर्वाचन हुने भरतपुर महानगरपालिका वडा नम्बर १६ नेकपा अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र नं. ३ मा पर्छ ।