पूर्वाञ्चल खबर
विराटनगर /मोरङको रंगेली नगरपालिकाका प्रमुखविरुद्ध वहुमत सदस्यले आन्दोलन शुरु गरेका छन् ।
नगरप्रमुख दिलिप बगडियाले मनोमानी ढंगले काम गर्ने गरेको र कार्यपालिका सदस्यलाई समेत वास्ता नगरेको भन्दै आन्दोलन शुरु भएको हो । कार्यपालिकाका चार वडाध्यक्ष सहित १२ सदस्यहरु नगरपालिकामै संयुक्त रुपमा पत्रकार सम्मेलन गरी प्रमुख बगडियाले चार महिनादेखि कार्यपालिका बैठक नराखी मनोमानी ढंगले नगरपालिका चलाएको आरोप लगाएका छन् ।
उनीहरुले प्रमुखले आफ्नो कार्यशैली नसच्याए मंसिर ८ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गर्ने चेतावनी दिएका छ । नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । रंगेली नगरपालिका वडा नं.२ का वडाध्यक्ष जित नारायण खवासले रंगेली सामुदायिक भवन निर्माणको कोटेशन लगायतको विषयमा शंका गर्दै विकास निर्माणको काममा आफनो उद्योगको सामान प्रयोग गरेको आरोप लगाए । भने,‘‘नगर प्रमुखको मनोमानी अत्यधिक बढेकोले हामी आन्दोलनमा जान बाध्य भयौं ।’’ रंगेली बजारको सडक विस्तारको विषयमा अन्तिम पटक कार्यपालिका बैठक बसेर कसरी घर भत्काउने भनेर निर्णय गर्ने भन्ने सहमति भएपनि बगडियाले आफुखुशी निर्णय गरेको उनले बताए ।
कार्यपालिका सदस्य शंकर प्रसाद साहले व्यक्तिगत रिसिइबी राखेर एउटा घरमा डोजर लगाएको आरोप लगाउँदै भने,‘‘नगरको विषयगत समिति भंग भएता पनि उनीहरुलाई बोलाएर प्रमुखले निर्णय गर्दै आउनु भएको छ । यो गैरकानुनी हो ।’’कार्यपालिकाबाट निर्णय नगरी नगरप्रहरी र अस्पतालमा कर्मचारी भर्ना गरी दम्भ देखाएको साहले बताए ।
रंगेली वडा नंं.३ का वडाअध्यक्ष धनश्याम पनेरुले अन्तिम कार्यपालिका बैठक बाट रंगेली बजार विस्तारका क्रममा मुआव्जा मागका लागी सिफारिस गर्ने भन्ने योजना राखिएता पनि बैठक नहुँदा गर्न नसकिएको र जनताको काम नरोकिने गरी आन्दोलन गरिने स्पष्ट पारे । भने,‘‘जनताको सुविधामा असर नपुग्ने गरी आन्दोलन हुनेछ ।’’रंगेली ४ का वडाअध्यक्ष भूपेन्द्र मण्डलले आफू निर्वाचित रहेको वडामा डोजर चलाइँदा समेत आफूलाई नगरप्रमुखले सूचित नगरी भत्काइएको बताए । रंगेली वडा नं.९ का वडाध्यक्ष केदारचन्द राजवंशीले मेयरले रंगेली हाटलाई ढेड वर्षदेख अस्तव्यस्त बनाएको, दोहमना हाटको बजेटबिनै घर भत्काएर योजना अधुरै राखेको, २ वर्ष अधिको सडकवत्तीको योजना हाल आएर थालिनु भनेको मयेरले आफनो दम्भ देखाएको आरोप लगाए ।
कार्यपालिका सदस्य सुशीला मुर्मुले मेयरले कार्यपालिका सदस्यहरुसंग पारदर्शी नभएकाले यो अवस्था सृजना भएको बताउँदै प्रमुख बडगियाले आफूलाई आवश्यक परेको खण्डमा बैठक बोलाउने नपरेको खण्डमा ४ महिनासम्म नबोलाउने कार्य विधि विपरित रहेकोले बाध्य भएर मेयरविरुद्ध पत्रकार सम्मेलन गर्नुपरेको बताइन । कार्यपालिका सदस्य महेश साहले रंगेली नगरपालिकालाई आवश्यक जग्गा खरिद विषयमा जग्गाधनी संग पाच लाखमा कुरा गरी १० लाख रुपैयाँ कार्यपालिकाबाट निर्णय गराउन खोज्दा अन्तीम बैठक भाड्एिको बताउँदै मेयरका कारण राज्यले दिने वा नदिने मुआव्जाको सिफारिस नहँुदा स्थानियमाथि अन्याय भएको बताए । पत्रकार सम्मेलनमा २ नं. वडाध्यक्ष खवासले प्रमुखले जायज विषयमा वास्ता नगरिए सशक्त आन्दोलन गर्ने बताए ।