महानगरले बनायो विपद व्यवस्थापन (बाढी) रेस्पोन्स टिम

खबर पूर्वाञ्चल, १४ असार २०७९, मंगलवार १८:५३
306
Shares
विराटनगर/ अविरल वर्षाका कारण उत्पन्न हुने बाढी र डुबानको जोखिम न्यूनीकरण, राहत र उद्धारका लागि विराटनगर महानगरपालिकाले विपद व्यवस्थापन (बाढी) रेस्पोन्स टिम बनाएको छ ।

महानगर प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतको उपस्थितिमा आज बसेको आकस्मिक बैठकले महानगरवासीको जिउधनको रक्षाका लागि रेस्पोन्स टिम बनाएको हो । सो टिमले उद्धारसँगै राहत वितरण, विस्थापितको व्यवस्थापनलगायतको कार्य गर्नेछ । विपद व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्र प्रधानको संयोजकत्वमा सहकार्य समन्वय समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा सामाजिक महाशाखा प्रमुख पुनम दाहाल रहेका छन् ।

त्यस्तै खाद्य व्यवस्थापनमा रामहरि कोइराला, बसोबास (सेल्टर) व्यवस्थापनमा दुर्गाप्रसाद खतिवडा, सुरक्षा व्यवस्थापनमा राजन पौडेल, स्वास्थ्य, पोषण, औषधि तथा स्वच्छतामा रमेश कार्की, सरसफाई, विपद व्यवस्थापनमा हीरा यादव, पूर्वाधार व्यवस्थापनमा गोपाल पोखरेल, प्रशासनिक व्यवस्थापनमा अर्जुन थपलिया र सञ्चार व्यवस्थापनमा मीनुकमार नवोदित रहेका छन् ।

बैठकमा महानगर प्रमुख नागेश कोइरालाले महानगरवासीको जिउधनको रक्षाका लागि जिम्मेवारीपूर्वक लाग्न निर्देशन समेत दिए । उनले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुक्षित स्थानमा सार्नुपर्नेमा जोड दिए ।

उपप्रमुख शिल्पा निराला कार्कीले बाढी र डुबानबाट विस्थापितहरुको व्यवस्थापनमा महानगर लागिपर्ने बताइन् । उनले स्थानीय संघसंस्थासित सहकार्य गरेर विपदको सामना गर्नुपर्ने औंल्याए । प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जोखिमयुक्त बस्तीको पहिचान भइसकेकाले उनीहरुलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिसकेको बताए । बस्नेतले विस्थापितहरुलाई विद्यालय र सामुदायिक भवनमा राखिने उल्लेख गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५