पूर्वाञ्चल खबर
विराटनगर / आफू र नाबालक छोराको बिचल्ली बनाएर श्रीमान वैदेशिक रोजगारीमा जान लागेको भन्दै एक विवाहित युवतीले त्यसमा रोक लगाइदिन आग्रह गरेकी छिन् ।
मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ का २४ वर्षीय सचिन दाहाल पारिवारिक सल्लाह बिनानै दुवई जान लागेको भन्दै उनकी श्रीमती २३ वर्षीय दिप्ती सिलवाल (दाहाल)ले श्रम तथा रोजगार कार्यालय विराटनगरमा पुगेर यस्तो आग्रह गरेकी हुन् । श्रीमानको एयरपोर्ट रोक्काको माग गर्दै श्रम कार्यालयमा निवेदन दिएर उनले आग्रह गर्दै भनिन्, ‘मेरा श्रीमानलाई विदेश जानबाट रोकिदिनु ।’ पारिवारिक सरसल्लाह बिना नै श्रीमान विदेश जान लागेकाले आफू र तीन वर्षको नाबालक छोराको विचल्ली हुने निवेदनमा खुलाइएको छ ।
आफूलाई सासु, ससुरा लगायत परिवारका अन्य सदस्यसँग मिलेर श्रीमानले पछिल्लो समय अनेक यातना र तनाव दिन थालेको उनको गुनासो छ । दिप्ती र सचिनबीच पाँच वर्ष अघि प्रेम विवाह भएको हो । उनीहरुका तीन वर्षीय छोरा पनि छन् । श्रम कार्यालयमा भेटिएकी दिप्तीले भनिन्, ‘पछिल्लो समय मलाई अनेक यातना दिइरहनु भएका उहाँ (श्रीमान) पारिवारिक सल्लाह नगरिकन विदेश जान लाग्नु भएको छ । राहदानी बनाएर पेस गरेको छ भन्ने कुरा आफन्तबाट सुनेर यहाँ आएकी हुँ ।’
श्रीमान र सासु, ससुराले खान लाउन समेत नदिइकन अनेक खालका यातना दिँदै दुरव्यवहार गर्न थालेपछि पारिवारिक तनाव खप्न नसकेर छोरासहित सात महिनादेखि आफू माइतीमा गएर बसिरहेको उनले बताइन् । ‘यस अघि कुराकानी हुँदा हामीलाई व्यवस्थापन गरेर मात्रै जान्छु भन्नु हुन्थ्यो,’ उनले भनिन्, ‘तर थाहै नदिइकन दुवई जानलाई काठमाडौं पुगेपछि चाल पाएँ ।’
परिवारका सदस्यले नराम्रो गरिरहेका बेला श्रीमान विदेश गए आफू र नाबालक छोराले थप तनाव बेहोर्नु पर्ने उनको भनाइ छ । पछिल्लो समय श्रीमानले परिवारका सदस्यसँग मिलेर अनेक तनाव दिने गरेको दिप्तीले बताइन् । आफूमाथि भइरहेको हिंसाका बारेमा इलाका प्रहरी कार्यालय बेलबारीमा निवेदन पनि दिइसकेको उनले बताइन् ।
माइतीबाट ल्याएको १२ लाख रुपैयाँले दुवै जना मिलेर काठमाडौंको मित्रनगरमा तीन वर्ष अघि कपडा पसल सञ्चालन गरेको दिप्तीको भनाइ छ । ‘दुवै जनाको सल्लाहले ३४ लाख रुपैयाँमा पसल बिक्री गरिए पनि १२ लाखको मात्रै हिसाव मलाई देखाउनु भयो,’ दिप्तीले भनिन्, ‘अरु पैसा ऋण छ भन्दै सकेपछि पारिवारिक तनाव सुरु भएको हो ।’
श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख एवं बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले विवाहित युवतीले दिएको निवेदनका आधारमा विदेश जान रोक लगाउँदै उनका श्रीमानको एयरपोर्ट रोक्का गरिएको बताए । दुवै जना मिलेर आएमा र श्रीमती राजी भएका खण्डमा मात्रै सचिनलाई विदेश जान खुल्ला गर्न सकिने उनको भनाइ छ ।