RUMPUM
animated ellipse animated ellipse

दोस्रो छोरी जन्माउने अभिभावक बढे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ कार्तिक २०७६, आईतवार ०८:२९
3
Shares

विराटनगर / छोरा जन्माउने रहरले लिङ्ग परीक्षण गरेर भ्रुण हत्या गर्ने प्रवृत्तिलाई रोक्ने उद्देश्यले सुरु गरेको छोरी बचाउ कार्यक्रम विराटनगर महानगरपालिकामा प्रभावकारी देखिएको महानगले दावी गरेको समाचार आजको जनविद्रोह दैनिकले मुख्य समाचार बनाएर छापेको छ ।

विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीले विशेष चासोकासाथ पहिलो सन्तान छोरी जन्माउने दम्पतिलाई नगद पुरस्कार दिएर सुरु गरेकी कार्यक्रम प्रभावकारी बनेपछि त्यसलाई विस्तार गरिन् ।

आर्थिक वर्ष २०७५/०७६ मा उनले दोश्रो सन्तान पनि छोरी जन्माउने दम्पतिलाई प्रोत्साहन गर्न छोरीको नाममा मुद्दति खाता खोलेर २५ हजार रुपीयाँ जम्मा गर्ने कार्यक्रम अगाडि सारेकी थिइन् । त्यो कार्यक्रम पनि निकै प्रभावकारी देखिएको उपप्रमुख कार्कीले बताइन् ।

अघिल्लो वर्ष पहिलो सन्तानको रुपमा जन्मिने छोरीका अभिभावकलाई पुरस्कार दिन र दोश्रो सन्तान पनि छोरी जन्मिदाँ बैंकमा जम्मा गर्ने रकमका लागि १० लाख रुपैयाँ बजेट बिनियोजन गरेको महानगरपालिकालाई बजेट अभाव भएको थियो । अनुमान गरिएको संख्या भन्दा धेरैले उक्त सुविधाका लागि आवेदन दिएका कारण झण्डै ७ लाख रुपैयाँ बजेट अपुग भएको थियो । आगामी वर्षको बजेटबाट मिलान गर्नेगरी आवेदकहरुलाई सम्बोधन गरिएको नगरपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा ६१ दम्पतिले पहिलो सन्तान जन्मिएबापत ३ हजार रुपैयाँका दरले १ लाख ८३ हजार रुपैयाँ पुरस्कार रकम बुझेका थिए । दोस्रो सन्तान पनि छोरी जन्माउने दम्पत्ती ५५ जना थिए । विराटनगर महानगरपालिकाले ती दोस्रो सन्तानको रुपमा जन्मिएका छोरीहरुको नाममा बैंक खाता खोलेर २५ हजार रुपैयाँको दरले मुद्दति खातामा रकम जम्मा गरिदिएको छ ।

चालु आर्थिक वर्ष २०७६/७७ मा पनि दोस्रो सन्तान पनि छोरी हुनेको निवेदन बढी परेको छ । यसले कार्यक्रम प्रभावकारी देखिएको उपप्रमुख कार्की बताइन् । चालु आर्थिक वर्षका पहिलो तीन महिनामा पहिलो सन्तान छोरी जन्माउने १४ जना र दोश्रो सन्तान पनि छोरी जन्माउनेका १८ वटा निवेदन महानगरमा दर्ता भएको छ । ‘सरकारबाट सुविधा पाइन्छ भनेर दोश्रो सन्तानको रुपमा छोरी जन्माएका हैनन्,’ उपप्रमुख कार्कीले भनिन् ‘छोरी बचाउँ भन्ने सन्देशले समाजमा राम्रो जागरण उत्पन्न गराएको छ, त्यसैले दोश्रो सन्तान पनि छोरी जन्माउनेहरुको संख्या बढ्नगयो ।’

कानूनी रुपमा अवैध भएपनि अल्ट्रासाउण्डको माध्यमबाट लिङ्ग पहिचान गराउने प्रवृत्ति अहिले पनि छ । यद्यपी त्यसलाई घटाउने अभियानमा महानगरपालिका क्रियाशिल रहेको छ । छोरी बचाउने मात्र होइन विराटगनर महानगरपालिकाका उपप्रमुख कार्कीले चालु आर्थिक वर्षको बजेटमा हुर्कदै गरेका छोरीहरुको सुरक्षामा पनि काम थालेकी छिन् । उनले पहिलो वर्ष नमुनाको रुपमा किशोरी सुरक्षा कार्यक्रमका लागि बजेट विनियोजन समेत गरिन् ।

किशोरीहरुलाई आत्मरक्षाको तालिम दिने र आफूमाथि कुनैपनि बेला आइपर्नसक्ने विपत्तिको सामना गर्न सक्षम बनाउने अभियान महानगरले नै चलाउनुपर्ने उपप्रमुख कार्कीको भनाइ छ । यो वर्ष महानगरभित्रका हरेक विद्यालयबाट दुई/दुई जना किशोरी विद्यार्थीहरुलाई मार्सल आर्ट सिकाउने र सँगैसँगै उनीहरुलाई आफ्नो अस्मिता बचाउन र तत्काल त्यहाँबाट उम्किन आवश्यक पर्ने तरिकासमेत सिकाइने उनले बताइन् । त्यसका लागि खेलकुद सम्वद्ध संस्थासँग साझेदारी गरेर अभियान अघि बढाउने उपप्रमुख कार्कीले बताइन् ।

विराटनगर महानगरपालिकाले मातृ सुरक्षालगायत महिला स्वास्थ्य, अधिकार र शीप विकासका विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ । त्यसका अतिरिक्त सञ्चालन गरिएको छोरी बचाउ र किशोरी सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउदै लैजाने योजना रहेको उपप्रमुख कार्कीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर