पूर्वाञ्चल खबर
काठमाण्डौ / भारतले नेपालको कालापानी र लिपुलेक आफ्नो नयाँ राजनैतिक नक्सामा समेटेपछि अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले आज साँझ भारतले आफ्नो नक्सामा राखेको दार्चुलाको कालापानी र लिपुलेकबारे छलफल गर्नका लागि शनिबार ४ बजे सर्वदलीय बैठक आह्वान गरेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
‘सीमाका बारेमा आएका विषयको पछिल्लो परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्रीले शनिबार दिउँसो ४ बजे सबै राजनीतिक दलका प्रमुखहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाउनुभएको छ’, अधिकारीले भने , ‘पूर्व परराष्ट्र मन्त्रीहरू पनि बैठकमा सहभागी हुनुहुनेछ ।’
भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नयाँ राजनैतिक नक्सामा समेटेपछि नेपालमा त्यसको विरोधमा चर्को प्रदर्शन भैरहेको छ । विभिन्न राजनीतिक दल, राजनीतिक दलका भातृ संगठन र सरकारले नै भारतीय कदमको विरोध गरेको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै भारतले एकपक्षीय रुपमा सार्वजनिक गरेको नक्सा नेपाललाई मान्य नहुने बताइसकेको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख विपक्षी नेपाली कांग्रेसलगायतका दलले साझा धारणा बनाउन र तत्काल भारतसँग कूटनीतिक सम्वाद गरी सीमा समस्या सुल्झाउन सुझाब दिएका छन् ।