पूर्वाञ्चल खबर
प्रदेशको ३ हजार ६ सय ३९ वटा सामुदायिक वनहरुलाई प्रतिष्पर्धाममा उछिन्दै जनसेवा प्रदेशमा अब्बल ठहरिएको हो ।
वन विकासमा उल्लेख्य योगदान गरेको, वनको हैसियत सुधार गरेको, खर्च र आम्दानीको लेखा प्रणाली पारदर्शी भएको, समुदायका सबैलाई समान व्यवहार गरेको, वैज्ञानिक वन व्यवस्थापनमासमेत उत्कृष्ट कार्य गरेको जस्ता सुचकांकका आधारमा जनसेवा अब्बल बनेको हो । त्यसबापत प्रदेश सरकारबाट १ लाख रुपैयाँ राशीको पुरस्कार प्राप्त गरेको अध्यक्ष दिलराम राईले बताउनुभएको छ ।
जनसेवाले यसै वर्ष जिल्लाको उत्कृष्ठ सामुदायिक वनको रुपमा ६ हजार ५ सय राशीको पुरस्कार पनि जितेको छ । जनसेवा सामुदायिक वनले घर नभएका र बनाउनसक्ने क्षमतासमेत नभएका विपन्न परिवारलाई अघिल्लो वर्षदेखि घर बनाइदिन थालेको छ । उसले अहिलेसम्म आधा दर्जन घर बनाएर हस्तान्तरण गरिसकेको छ । यस्तै बेरोजगार युवाहरुलाई शीप सिकाएर रोजगारका लागि योग्य बनाएको छ ।
सामुदायिक वनले सवारी चालक, प्लम्बिङ्ग, सिलाई आदिको तालिम दिएको र धेरैले त्यसको सदुपयोग गरेर रोजगार चलाइरहेको अध्यक्ष राईले बताउनुभयो । सामुदायिक वनले वार्षिक १ करोड रुपैयाँभन्दा बढी रकम आम्दानी गर्ने गरेको छ । आम्दानीको रकम वन विकास र समुदायको विकासमा खर्च गर्दै आएको छ ।
उत्तरी मोरङमा सर्पदंशका कारण मानिसहरु मर्ने दर बढेपछि सामुदायिक वनकै पहल र लगानीमा लेटाङमा सर्पदंश उपचार केन्द्र स्थापना गरिएको छ । स्थानीय सामुदायिक क्याम्पस सञ्चालनमा नियमित आर्थिक सहयोग उपलव्ध गराइरहेको छ । त्यति मात्र होइन पूँजी अभावका पेशा व्यवसाय गर्न नसक्ने गरिव परिवारहरुलाई बीउपूँजी उपलव्ध गराएर पसलहरु खोलिदिएको प्रसस्त उदाहरण रहेको सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश १ का सचिव अग्नी पौडेलले जानकारी दिए ।
लेटाङ नगरपालिका ४ का वडाध्यक्ष सन्तोष कार्कीले जनसेवा सामुदायिक वनले वडाको हरेक विकास योजनामा लगानी साझेदारी गर्दै आएको बताए । ‘यहाँका जतिपनि सकड, पुल र कल्भर्ट बनेका छन् त्यसमा सामुदायिक वनको पनि लगानी छ,’ उनले भने ‘आगामी दिनमा पनि नगरपालिका साझेदारीसाथ अघि बढ्न चाहान्छ र वन विकासकालागिसमेत नगरपालिका लगानी गर्न इच्छुक छ ।’